विष्णुमायाको उपचारमा सहयोग जुट्न शुरु , देराली फाउण्डेसनले दियो ५० हजार

2021-08-24 मा प्रकाशित

धुलाबारी, ८ भदौ । मेचीनगर–८ स्थित सेनिटरी टोल कि ३६ वर्षीया विष्णुमाया मगरको उपचारका लागि अमेरिकामा रहेका नेपालीहरूको साझा संस्था देउराली फाउण्डेसनले नगद ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

फाउण्डेसनको तर्फबाट पत्रकार भिम घिमिरे र गोपाल बराइलीले उक्त आर्थिक सहयोग विष्णुमायको घरमा पुगेर उक्त वडाका अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे, गंगा पाठक, पत्रकार लगायत स्थानियहरूको उपस्थितिमा रकम हस्तान्तरण गरेका हुन् ।

समाजसेवी खिम रोक्का र एनआरएन अमेरिकाका कोषाध्यक्ष राजिव श्रेष्ठको तर्फबाट फाउण्डेसन मार्फत आर्थिक सहयोग गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष धिमालले पीडित विष्णुमायाको अवस्था जटिल बन्दै गएको र सबैले सहयोग गरेर उनको उपचार गर्नुपर्ने अवस्था आएकोे भन्दै सहयोगको अपिल समेत गरेका छन् ।

पीडित विष्णुमाया कि काकी उमामाया मगर भन्छिन्,– “उपचार गर्न जाऔं, पैसा छैन । उपचार नगरौं, अनुहारमा दर्दनाक मासुको डल्लो बढेर खानपिउन नै समस्या भइसक्यो । खान लाउन धौधौ छ कसरी उपचार गरौँ रु”

आर्थिक स्रोत नभएका कारण विष्णुमायाले बर्सौँदेखि आफ्नो अनुहारभरी मासुको डल्लो झुन्ड्याएर हिँडिरहेकि छिन् । पछिल्लो समय उक्त मासुको डल्लो बढ्दै गएपछि थप समस्या निम्तिएको उनका छिमेकी बताउँछन् ।

मुख र नाक मासुका लुर्काले छोपिइसकेको छ भने आँखा हेर्न समस्या हुँदै गएको छ । जसका कारण उनलाई खानपिन र हिँडडुलमा समेत कठिनाई भैरहेको छ । उनको अनुहारमा मात्रै नभएर अहिले शरीरका विभिन्न भागमा मासु पलाउँदै गएपछि उनलाई झनै समस्या भएको छ ।

कुन रोगका कारण मासु पलाएको भन्ने पत्ता लगाउन सकिएको छैन । सानैछँदा अनुहारमा गाठागुठी देखिएको र एकपटक अस्पतालमा पुगेको उनले बताइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु