मेचीनगरमा खोपलाई व्यवस्थित बनाउन दलहरुले समन्वय गर्ने

2021-08-26 मा प्रकाशित

धुलाबारी । मेचीनगरका क्रियाशील राजनीतिक दलहरुले नगरभित्र लगाईने कोरोना खोपलाई व्यवस्थित र मर्यादित बनाउन आ–आफ्नो ठाउँबाट साथ सहयोग उपलब्ध गराउने प्रतिवद्घता जनाएका छन् ।
डीसीसीएमसी झापाको भदौ ८ गतेको निर्णय अनुसार कोभिड १९ विरुद्घको भेरोसिल्ड दुई डोजको एक भाएल दोस्रो मात्रा खोप अभियान भदौ ११ गते विहीबारबाट शुरु हुदैंछ ।

भदौ ११ देखि १३ गतेसम्म हुने खोप अभियानलाई मध्यनजर गरेर नगरपालिकाले बुधबार मेचीनगरका क्रियाशील राजनीतिक दलका प्रमुख प्रतिनिधि, नगरभरिका वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र सञ्चारकर्मीसहितको छलफलमा दलका तर्फबाट प्रमुख प्रतिनिधिहरुले यस्तो प्रतिवद्घता जनाएका हुन् ।

खोप सेवा सञ्चालन गर्दा पालिका स्तरमा सर्वपक्षिय बैठक राखेर छलफल गरेर खोप अभियान सञ्चालन गर्नु अघि नै पूर्व तयारी योजना बनाएर मात्र खोप अभियान सञ्चालन गर्नुपर्ने १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय झापाले निर्देशिका जारी गरेको छ ।

छलफलमा सहभागी सवैजना भेरोसिल्ड खोप पहिलो मात्राको खोपकार्डको आधारमा मात्र अभियान सञ्चालन गर्नेमा एकढिक्का भएका छन् । छलफलमा सहभागी राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले खोप केन्द्रमा हुने अनावश्यक भीडभाडलाई व्यवस्थित गर्न, लक्षित समुदायलाई मात्र खोप उपलब्ध गराउन, स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्ने कुरामा दलका तर्फबाट पूर्णरुपमा साथ सहयोग हुने बताएका थिए ।

नगप्रमुख विमल आचार्यले छलफलको अध्यक्षता गदैं अहिलेसम्म कोभिड संक्रमण तथा रोकथाम र खोप लगाउने कार्यमा मेचीनगर देशकै उत्कृष्ट बनेको चर्चा गदैं यसलाई बचाई राख्न, नगरका क्रियाशील राजनीतिक दलका प्रमुख प्रतिनिधि, नगरभरिका वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुसँग आग्रह गरेका थिए । नगरप्रमुख आचार्यले खोप अभियान सञ्चालन गर्दा हुन सक्ने अवान्छित गतिविधि व्यवस्थापनको आवश्यक सहयोगको अपेक्षा समेत राखे ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले कोभिड १९ विरुद्घको भेरोसिल्ड दुई डोजको एक भाएल पहिलो मात्रा खोप जहाबाट लगाईएको हो त्यहीबाट लगाउने व्यवस्था मिलाईएको बताइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले खोपका बारेमा जानकारी गराएका थिए ।

नेपाली काँग्रेस मेचीनगर सचिव हस्तबहादुर आङ्गदेम्बे, नेकपा एमाले मेचीनगर इञ्चार्ज देवकुमार राई, नगर अध्यक्ष राजु पोखरेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष पुष्प गुरागाईँ, संघीय समाजवादी पार्टी नेपालका नगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष सविना बजगाईँले विगतमा खोप कार्ड वितरणमा समस्या भएकाले त्यसलाई सुधार गरेर जान सम्बन्धित जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए ।

छलफलमा पहिलो मात्रा खोप लगाएको कार्डको आधारमा ५५ वर्ष माथि उमेर समुहका आमनागरिकलाई खोप उपलब्ध गराउने सहमति भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु