मेचीनगरमा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर शुरु

2022-03-02 मा प्रकाशित

aमेचीनगर।  मेचीनगर नगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले तीनदिने सामुदायिक कुकुरको बन्ध्याकरण शिविर मंगलबारबाट शुरु गरेको छ । शिविरको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले उद्घाटन गर्नुभएको थियो ।

शिविर मेचीनगर नगरपालिकाको प्रायोजनमा धुलावारी माध्यमिक विद्यालयले नेपाल भेटरिनरी एसोशिएसन प्रदेश नम्बर १ पज सोसाइटि नेपालको प्राविधिक सहयोगमो आयोजना गरेको हो । नगरपालिकाले यसअघि पनि शिविर सञ्चालन गरे पनि समाजमा अझै छरिएर रहेका यस्ता कुकुरको बन्ध्याकरण शुरु गरेको हो ।

पहिलो दिन मेचीनगरको काँकरभिट्टा,प्यारीभिट्टा र इटाभट्टाका ६० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको विद्यालयका सहायक प्रधानध्यापक तेजप्रसाद चौलागाईँले जानकारी दिनुभयो । टोलीले मेचीनगरका वडा नं ६, ७ सम्म पुगेर सामुदायिक कुकुरलाई नियन्त्रणमा लिइएको थियो । कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढ्ने गरेको छ ।

मेचीनगर नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको संख्या घटाउन बन्ध्याकरण शिविर सञ्चालन गरिएको नगरप्रमुख विमल आचार्यको भनाई छ । नगरक्षेत्रभित्र जथाभावी रुपमा सामुदायिक कुकुर छाडिँदा समस्या भएपछि नगरपालिकाले त्यस्ता कुकुरको बन्ध्याकरण गरेको हो ।

तीनदिनसम्म सञ्चालन हुने शिविरको दोस्रो दिन नगरको धुलावारी ज्यामिरगढीलगायतका क्षेत्रबाट सामुदायिक कुकुर नियन्त्रणमा लिएर बन्ध्याकरण गरिने छ । तेस्रो दिन चारआली धाइजनलगायतका क्षेत्रका सामुदायिक कुकुरको बन्ध्याकरण गरिने छ । मेचीनगरको धुलावारी माध्यमिक विद्यालयमा आजदेखि सुरु सामुदायिक कुकुरको बन्ध्याकरण शिविर फागुन १९ गतेसम्म सञ्चालन हुनेछ । नगरका विभिन्न ठाउँबाट कुकुरहरु जम्मा गरेर शिविरमा ल्याई बन्ध्याकरण गर्दै आएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशविक्रम नेम्वाङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य कृष्ण कनाल,नगरपालिकाका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीलगायतले बोल्नुभएको थियो । शिक्षक रमेशकुमार दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी सवैलाई विद्यालयका सहायक प्रधानध्यापक तेजप्रसाद चौलागाईँले स्वागत गर्नुभएको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु