आज खण्डग्रास सूर्यग्रहण, अब ४४ वर्षपछि देखिनेछ यो दृष्य

2020-06-21 मा प्रकाशित

झापा,७ असार । अब ४४ वर्षपछि मात्रै देखिने  यस किसिमको खण्डग्रास सूर्यग्रहण नेपालमा आज लाग्दै छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने छ ।

यस्तै नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद् आचार्यले जानकारी दिए ।

कुन ठाउँमा कति बजे सुरु हुन्छ ग्रहण रु

बीपी कोइराला मोमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालयका विकास समितिका अनुसार पोखरामा विहान १० बजेर ५२ मिनेटमा, महेन्द्रनगरमा १० बजेर ५४ मिनेटमा, जनकपुरमा १० बजेर ५६ मिनेटमा र भद्रपुरमा ११ बजेर ५२ मिनेटमा सूर्यग्रहण सुरु हुने छ ।

विकास समितिका निमित्त कार्यकारी निर्देशक डा। सनत कुमार शर्माका अनुसार जनकपुरबाट ८२ प्रतिशत, पोखराबाट ८८ प्रतिशत, झापाको भद्रपुरबाट ८१ प्रतिशत र कन्चनपुरको महेन्द्रनगरबाट ९३ प्रतिशत सूर्य ढाकेको देखिन्छ ।

अब ४४ वर्षपछि मात्रै देखिनेछ यस्तो ग्रहण

नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने आचार्य बताउँछन् । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ र त्यसलाई नै सूर्य ग्रहण भनिन्छ ।

यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरू भने सूर्यग्रहण जो कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्यता राख्छन् ।

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन । तर सूर्यग्रहण नाङ्गो आँखाले हेर्दा त्यसले हाम्रो दृष्टिसमेत गुम्न सक्ने भएकाले अत्यन्तै सावधानी अपनाउनुपर्ने खगोलविद्हरू बताउँछन् । सूर्यग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गर्न सकिन्छ ।

साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरूका लागि यस्तो घटना आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो । वैज्ञानिक तथा खगोलविद्हरू सूर्य, चन्द्र र पृथ्वीको सही दुरी मापन गर्न ग्रहणको उपयोग गर्छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु