गोविन्द न्यौपाने
नेपाली अर्थतन्त्रमा संकट रहेको भन्ने वेलावखतमा सुनिएको हो ।विशेष गरि निर्यातको तुलनामा आयातको मात्रा वढेका कारण विदेशी मुद्रा संचिति घट्ने अवस्थाले अर्थतन्त्रलाई नराम्ररी असर गरेको छ । भन्सार विभागका अनुसार यस आर्थिक वर्षको २ महिनाको मात्र ब्यापारको अवस्था हेर्ने हो भने २ खर्व ४४ अर्व ब्यापार घाटा रहेको छ । यस्तै अवस्थामा ब्यापार अगाडी वढ्ने हो भने यस वर्ष ब्यापार घाटा विगतका वर्षहरु भन्दा वढने निस्चित छ । देशका मुखिया प्रधान मन्त्रीले नै कर्मचारीलाई तलव दिन समेत ऋण खोज्नुपर्ने अभिब्यक्ति दिएकाले पनि अर्थतन्त्रमा संकट वुझन सकिन्छ ।
वैकं तथा वित्तिय संस्थामा तरलताको अभावका कारण साना साना ब्यवसायीहरुले ऋण पाएका छैनन । वित्तिय संस्थावाट ऋण लिइ ब्यवासयिक रुपमा कुखुरा र वाख्रा पालेका कृषकहरुका उत्पादनहरुको विक्रीमा तुलनात्मक रुपमा मन्दी आएको छ । गाउँघरमा लोकल कुखुरा र खसी वोकाको विक्री विगतको तुलनामा कमी आएका कारण आफ्नो उत्पादन विक्री गरि खर्चको जोहो गर्नेहरु अफ्टेरोमा परेका छन ।
यस्तै आर्थिक संकटका माझ आएको दशैले नेपाली अर्थतन्त्रलाई फेरी आयातको भारी थपिने निस्चित छ ।ऋण गरेर भएपनि वर्षमा एक पटक आउने दशैलाई भब्य रुपमा मनाउने भन्ने नेपाली जनमानसको सोचका कारण खानपिन र पोषाकको उपभोग अन्य महिना भन्दा अवश्य वढने र अधिकाशं उपभोगका वस्तुहरु आयात गर्नुपर्ने अवस्था सवैलाई थाहा नै भएको हो ।
संकटका समयमा नागरिकहरुले समेत मितब्ययी हुन सक्ने हो भने देशका लागि केही मात्रामा भएपनि योगदान दिएको ठहर्छ । विगतमा हाम्रो निर्वाह मुखी अर्थतन्त्र भएकाले आर्थिक संकटको अनुभुति भएन । गाउँघरमा आफुलाई चाडवाडमा चाहिने सवै वस्तुहरुको उत्पादन आफै गर्ने चलन थियो , दशैमा मसला वाहेक सवै आफ्नै उत्पादनले पुग्ने अवस्था आज परिवर्तन भएको छ । वैदेशिक रोजगारका कारण खेतवारीहरु वाझिन थालेका छन । हिजो उत्पादन हुने मसिनो र वास्नादार धानहरु आज खेती गर्न छाडिएका भए पनि खान छाडिएको छैन । वोका , खसी , राँगा , कुखुरा हाँस जस्ता मासुजन्य पक्षीहरु आफैले पाल्ने र चाडवाडका लागि जोहो गर्ने चलन अव हराइ सकेको छ । तोरी छर्ने र आफले तेल पेल्नका लागि तेल मिलहरुमा दिनौं वढ्ने मानिसका भिडहरु आज तेल खरिद गर्न भारतीय वजारमा देखिन थालेको छ ।
निरन्तरको मुल्यवृद्धी र क्रय शक्तिमा गिरावटका कारण मानिसहरुको उपभोग्य वस्तुको खरिदको क्षमता घटेको भएपनि आसन्न दशैको मुखमा लोकलज्जाका लागि पनि वजारमा जान नसक्नु हुतिहारा ठहर्ने डर छ । घरमा लुगाका थाक भएपनि बालबालिकाको इच्छा पुरा गर्न बावुआमालो गाउँघरका साहुकारी र लघुवित्तमा चर्को ब्याजमा ऋण लिनुको विकल्प छैन ।रुस युक्रेन युद्ध र कोरोना महामारीका कारण थलिएको अर्थतन्त्रका कारण वैकं तथा वित्तिय संस्थाहरुमा आम मासिनको पहुँच कम भएको छ ।
जस्तो सुकै अवस्था भएपनि नेपाली समाज अहिले उपभोगको होडवाजीमा छ ।एकताका दशै कहिले आउला र एकजोर लुगा लगाउँला भन्ने अवस्था हाल छैन । स्कुल जाने बालबालिकाहरुका लागि विद्यालय पोषाक वदल्ने अवसरको रुपमा रहेको दशैको महत्व सिद्धी सकेको छ । भण्डारका लागि दराज सोकेश हरु टमाटम भएपनि दशैमा लुगा नथप्नेहरु हुतिहाराको रुपमा गनिनेछन । खानपिनको हकमा अव दशैं नै पर्खनुपर्ने नरहे पनि नेपाली समाजको उपभोक्तावादी चरित्रका कारण आयो दशै ढोल वजाइ गयो दशै ऋण वोकाइ नहोला भन्न सकिने स्थिति छैन ।
माथि उल्लेख गरिएको आर्थिक पाटो तत्कालित पुँजीवादी समाजमा महत्वपूर्ण हुने भएपनि यसका अलावा यसको सामाजिक साँस्कृति पक्ष समेत वुझन जरुरी छ । दशै विशेष गरि हिन्दुहरुको चाड भएपनि सवै यसको प्रभाव सवै धर्मावलम्वीहरुमा परेको नै छ । सवै कर्मचारीले विदा पाउने मात्र नभइ दशै खर्च समेत पाउने ब्यवस्थाले गर्दा तड्क भड्कमा मद्धत गर्ने गरेको छ । जुवा तास र खानपिनमा वढोत्तरी जसले सामाजिक विकृतिलाई वढावा नै दिन्छ ।
दशैंमा लामो बिदा हुने भएका कारण विदेश गएका, घर छाडी काममा टाढा पुगेका नेपाली चाहे ती जुनसुकै धर्म÷संस्कृति मान्ने किन नहुन्, वर्षको एकपल्ट दशैंमा घर आंउँंने कारणले एक आपसमा वढने शौहाद्रता र निकटताले सामाजिक एकता वढाएको नकार्न सकिदैन । खेतीपाती, मौसमलगायतका अनुकूलताका कारणले दशैं बिदामा सपरविार घुम्न जाने जसका कारण आन्तरिक पर्यटन समेत वढ्ने गरेको छ । ब्यक्तिको जे जस्तो आर्थिक अवस्था भएपनि यस अवसरमा बजारमा माग सिर्जना भएर अर्थतन्त्र केही हद सम्म चलायमान हुने नै छ । सरकारको केन्द्रिय वैकंले समेत यसै अवसरमा नयाँ नोट वजारमा ल्याउने कारण पनि यही हुन सक्छ ।
नेपाली समाजमा दशैं आइ नै सकेको अवस्थामा आर्थिक रुपमा सम्वृद्ध भएकाहरुले तडकभडक र फजुलखर्ची नवढाउने हो भने , समाजमा रहेका विपन्न र गरिबहरुले प्रतिस्पर्धामा उत्रन आवश्यक पर्दैन । खानपिन र पहिरणलाई सामान्यकरण गर्ने हो भने कम खर्चमा नै उल्लासमय, ऋणमुक्त र चिन्तामुक्त दशै मनाउन सकिएला । उत्पादनवाट टाडिदै गएको नेपाली समाज आज रेमिट्यान्समा आधारित उपभोगवाट ग्रसित भएको कुरा सवै नागरिक र राज्यले समेत वुझने हो भने दशैं खुसीयालीको चाड हुन सक्ला । देशमा भएको संकटवाट नागरिक समेत उम्कन सकिदैन भन्ने हेक्का राख्नु नै सहि कदम होला कि ।
प्रतिकृया दिनुहोस्