महेन्द्रद्वार सहकारीको आयोजनामा औषधिजन्य खेती सम्बन्धी प्रशिक्षण सम्पन्न

2023-01-01 मा प्रकाशित

डम्बर बराल
काँकरभिट्टा । महेन्द्रद्वार सहकारी संस्थाले औषधिजन्य खेती सम्बन्धी प्रशिक्षण आइतबार बाहुनडाँगी स्थित हात्ती रिसोटमा सम्पन्न गरेको छ ।
केही समय यता व्यवसायिक कृषि उत्पादनमा अघिबढेको सहकारीले सदस्यहरुको दिगो आम्दानीको श्रोत व्यवस्थापन गर्न र जीवन स्तरउकास्ने गरी व्यवसायिक जडिबुटी खेती सुरु गरेको छ । सदस्यहरुलाई जडिबुटी खेतीमा प्रोत्साहित गरिरहेको सहकारीले सदस्यहरुलाई लक्षित गरेर तालिम आयोजना गरेको सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहाल (राजु)ले  बताए । अध्यक्ष दाहालले सहकारीले किसानसँग जडिबुटी खरिद गर्ने सम्झौता गरिसकेकोले निर्धक्क भएर सदस्यहरुलाई आफ्नो उत्पादनमा लाग्न अनुरोध गरे । सदस्य केन्द्रित कार्यक्रमलाई आफूले प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष दाहालको भनाइ थियो ।


तालिममा हात्ती प्रभावित क्षेत्र मेचीनगर –१ र ४ नम्बर वडाका ४० जना सदस्य किसान सहभागि थिए । तालिममा सहभागिहरुलाई जडिबुटी सञ्जाल झापाका संयोजक दीपक नेपालले व्यवसायिक जडिबुटी खेतीबाट किसानलाई हुने फाइदा तथा यसले वातावरणमा पार्ने सकारात्मक प्रभावका बारेमा प्रशिक्षण दिएका थिए । दिगो र भरपर्दाे आम्दानीको श्रोत जडिबुटी खेती भएको बताउँदै उनले निर्धक्क भएर खेती गर्न सहभागिहरुलाई प्रोत्साहित गरेका थिए ।
आफूलामो समयदेखि जडिबुटी खेतीमा सक्रिय रहेको र बजारको समेत समस्या नहुने बताउँदै नेपालले खेती गर्न इच्छुक व्यक्तिलाई आफ्नो प्राविधिक सहयोग रहने विश्वास दिलाए ।
कार्यक्रममा फोइडिटा कृषि फर्मका सञ्चालक तथा कृषि प्राविधिक रामहरि नेपालले समेत प्रशिक्षण दिएका थिए ।
सहकारी संस्थाका अध्यक्ष राजु दाहालको सभापतित्व तथा मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कार्कीले देशको लगानी र किसानको भावनामा खेलवाड नगरी इमान्दारी पूर्वक काम गर्न सहकारी सञ्चालकहरुलाई सुझाव दिए । सफलता जोखिमकै बीच मिल्न सक्छ । वडाध्यक्ष कार्कीले भने,‘ हरेक व्यवसायमा जोखिम छ । तपाइहरु दीर्घकालिन योजनाका साथ अघि बढ्नुहोस अफ्ठेरो परिस्थितिमा वडाले साथ दिन्छ ।’
उनले महेन्द्रद्वार सहकारीले सदस्यहरुको विश्वास जितेर अघिबढ्नु पर्ने बताए ।


कार्यक्रममा मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दिपेन्द्र कार्की, सहकारी संस्थाका पूर्व अध्यक्ष सनद कुमार अधिकारी, मानव हात्ती द्धन्द व्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेती, पानस सहकारी संस्थाका अध्यक्ष महेन्द्र मल्ल लगायते सहकारीले दीर्घकालिन लक्ष बनाएर कार्यक्रम अघि बढाउन सुझाव दिए । अधिकांश वक्ताहरुले जडिबुटीबाट प्रशोधित तेल जन्य पदार्थको विक्रिको लागि समेत भरपर्दाे बजारको पहिचान गर्नु पर्ने बताएका थिए ।
सहकारीले यसै वर्षबाट सदस्यहरुको सहकार्यमा हात्ती प्रभावित २५ विगाह क्षेत्रमा सिटोनेला र लेवनग्रास प्रजातिका जडिबुटी खेती सुरु गरेको छ भने आगामी २ वर्ष भित्रमा १ सय विगाह जमिनमा खेती गर्ने समितिले जनाएको छ । सहकारीले कच्चा पदार्थ प्रशोधनका लागि मेचीनगर –८ मा सनराइज हर्वल उद्योग समेत सञ्चालनमा ल्याइसकेको छ ।

सदस्य कुन्दन निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य प्रकाश ढुंगानाले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु