मेचीनगर–५ मा निःशुल्क स्वास्थ्य जाँच

2023-06-03 मा प्रकाशित

सुरेन्द्रनगर । मेचीनगर–५ मा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर सम्पन्न भएको छ ।
वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ प्रा.डा. सञ्जीव कुमार शर्माको नेतृत्वमा सञ्चालित शिविरमा ५२८ जनाले स्वास्थ्य जाँच गराएका थिए । ‘एविसिडिई जचाउँ मृगौला र मुटु बचाउँ’ भन्ने मुल नारा सहित २०८० जेठ ८ गतेदेखि १६ गतेसम्म रगत तथा पिसाव जाँच गरिएको थियो । आठ दिनसम्म रगत तथा पिसाव जाँच गरिएको र १९ गते सम्पूर्ण रिपोर्ट हेरी गम्भीर प्रकृतिका विरामीलाई ओषधि लेख्ने तथा स्वास्थ्य सम्बन्धी परामर्श दिएको डा. सञ्जीवले बताए ।


स्वास्थ्य परीक्षणका क्रममा २०५ जनाको स्वास्थ्यमा बिभिन्न समस्या देखिएको र ६५ जनाको भने बोर्डर लाइनमा पुगेको उनले जानकारी दिए । ‘हामीले स्वास्थ्यलाई हेलचेक्राई गर्नु हुँदैन,’ डा. शर्माले भने, ‘बिरामी भएर मात्र स्वास्थ्य परीक्षण गर्ने होइन समय समयमा मुटु, मृगौला, प्रेसर र सुगर परीक्षण गर्नु जरुरी छ ।’


स्वास्थ्य शिविरको संयोजन तथा आर्थिक सहयोग मेचीनगर ५ नम्बर वडा कार्यालयले गरेको थियो । ‘हामीले वडाबासीको स्वास्थ्यलाई मध्यनजर गरेर शिविर सञ्चालन गरिरहेको छौं,’ ‘वडाध्यक्ष काकीले भने, ‘मुटु मृगौलामा रोगको संक्रमण हुँदा व्यक्तिले आर्थिक तथा स्वास्थ्यको हिसावले ठूलो क्षति व्यहोर्नु पर्छ, त्यसैले समयमै स्वास्थ्य परीक्षण गराउँ र रोगको पहिचान गरौं भन्ने उदेश्य हो ।’
स्वास्थ्य परीक्षण शिविरमा सबै टोलबाट वडाबासीलाई सहभागी गराउन टोल समिति मार्फत पत्र पठाइएको र सोही अनुसार शिविर सञ्चालन गरिएको वडा सदस्य पुष्प गेलालले बताए । स्वास्थ्य शिविर अत्यन्तै प्रभावकारी भएको उनको भनाइ थियो । शिविरमा वडा प्राथमिक स्वास्थ्य चौकीका प्राविधिकहरुले समेत पूर्णरुपमा सहयोग पुर्याएका थिए । शिविरमा समाजसेवी एवम् मेची अभियानका अभियन्ता बिजय डालमियाले निःशुल्क रुपमा खानेपानी उपलब्ध गराएको वडाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु