मेचीनगर, ७ भदौ । होटल व्यवसायी संघ मेचीनगरको नयाँ भवनको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् । भवन उद्घाटन् पछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बुढाथोकीले मेचीनगरमा थुप्रै खाले समस्या रहेको र ती समस्याको समाधानको लागि आफूले प्रयत्न गरिरहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर बुढाथोकीले काँकरभिट्टा नाका खुलाउन तत्काल पहल थाल्ने बताए । उनले भने, ‘नाका नखुलेका कारण सबै क्षेत्रका मानिसहरु समस्यामा परेका छन् । तत्काल यहाँका सांसदहरुसँग बसेर छलफल गर्छु ।’
उनले कोभिड–१९ देखि पीडित बनेका यहाँका सबै क्षेत्रका मानिसहरुलाई नाका नखुलेका कारण पर्यटकहरु पनि आउन नपाएको बताए । भारतले यो नाकाबाट पर्यटकलाई भिषा नदिएका कारण यहाँका पर्यटन, होटल व्यवसायी सबै मारमा परेको उनको भनाई छ ।
यसका लागि सम्बन्धीत मन्त्रालयका सचिवसँग छलफल भइरहेको उनले बताए । उनले यहाँका सबै व्यवसायीहरुसँग बसेर नगरपालिकाले छलफल गर्ने बताए ।
मेची पुलमा सिटी रिक्साको भिड, बस पार्कमा यातायातको व्यवस्थापन, भारतबाट अवैधरुपमा छिर्ने सामान लगायतका विषयमा सरोकारवालासँग छलफल गरेर टुंगोमा पुग्ने मेयर बुढाथोकीको भनाई छ ।कार्यक्रममा उपमेयर मीना पोखरेल उप्रेती, मेचीनगर–१० का वडाध्यक्ष ललितबहादुर तामाङ, होटल व्यवसायी संघ झापाकी अध्यक्ष ईन्दिरा श्रेष्ठ, होटल व्यवसायी एवम् समाजसेवी राजु कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्वअध्यक्ष अर्जुन सुब्बालाई सम्मान समेत गरिएको थियो ।
काँकरभिट्टामा ५ धुर जग्गामा एकतले पक्का भवन निर्माण भएको हो । २०७९ फागुन १५ गते भवनको शिलान्यास गरिएको थियो । २१ लाखमा रुपैयाँमा निर्माण भएको उक्त भवनका लागि नगरपालिकाले १० लाखमा कर काटेर ८ लाख ५० हजार, गोरखा ब्रुअरी कम्पनीले ५ लाख र नगरका विभिन्न होटल व्यवसायीहरुले सहयोग गरेको संघ जनाएको छ ।
होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष मानबहादुर गिरी (ध्रुब) ले र सञ्चालन महासचिव हस्तबहादुर तामाङले गरेका थिए ।
प्रतिकृया दिनुहोस्