काँकरभिट्टामा २२५ घन लिटर क्षमताको ओभर हेड टेंकी शिलान्यास

2024-07-31 मा प्रकाशित

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी विस्तार अभियानलाई तीब्रता दिएको छ ।
संस्थाले काँकरभिट्टा सहलगानी अन्तरर्गत बुधबार मेचीनगर –६ स्थित रमाइलो गाउँमा २२५ घन लि. क्षमताको ओभर हेड टेंकी शिलान्यास गरेको छ ।
ओभर हेड टेंकीको शिलान्यास मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । शिलान्यास पछि आयोजित औपचारिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले खानेपानीको अभावको पीडा काँकरभिट्टा बासीले लामो समय भोग्नुपरेको स्मरण गर्दै सर्वसुलभ खानेपानी वितरणमा खानेपानी समितिले खेलेको भूमिकाको प्रशंसा गरे ।


मेचीनगरका बिभिन्न क्षेत्रमा अहिलेपनि नगरबासी खोलाको पानी खान बाध्य रहेको बताउँदै उनले आम नगरबासलाई शुद्ध खानेपानी पुर्याउनेगरी गरी नगरपालिकाले दीर्घकालिन योजना बनाएर अघि बढ्ने बताए । ‘कुनैबेला काँकरभिट्टा बासीले खानेपानीको निम्ति भोग्नुपरेको पीडा अहिले बाहुनडाँगी वासीले भोग्नु परेको अवस्था छ,’ उनले भने, ‘नगरपालिकाले आम नगरवासीलाई शुद्ध खानेपानी पुर्याउनेगरी योजना बनाएर छलफलको लागि आह्वान गर्ने छौं ।’
उनले निर्माण ब्यवसायीलाई समेत समयावधि भित्र काम सम्पन्न गर्न आग्रह गरे ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले तीन साता अघि मेचीगर– ५ स्थित सिर्जना टोलमा ४५० घन लिटर क्षमताको ओभरहेड टेंकी शिलान्यास गरेको थियो । उक्त टेंकीको शिलान्यास संघीय सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले गरेका थिए ।
दुबै टेंकीको कुल लागत १० करोड ४८ लाख रहेको खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यालय प्रमुख दीपक पोख्रेलले जानकारी दिए । ३० महिनामा निर्माणकार्य सक्नेगरी दुबै ओभरहेड टेंकीको निर्माणको जिम्मा निर्माण ब्यवसायी पारस लामिछानेले लिएका छन् । खानेपानी समितिले भने १२ महिना भित्रमा निर्माणकार्य पुरागर्ने गरी काम अघि बढाएको कार्यालय प्रमुख पोख्रलेले बताए । रमाइलो गाउँमा यस अघि ओभरहेड टेंकी निर्माण गरिएको भएपनि टेंकी जीर्ण भएपछि समस्या आएको थियो । मेचीनगर ५ मा निर्माणधिन टेंकी र रमाइलो गाउँको टेंकीले करिव २३ सय घरधुरी लावान्वीत हुन सक्ने कार्यालयले जनाएको छ ।
कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर– ६ का वडाध्यक्ष ललित बहादुर तामाङ, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, इप्रका काँकरभिट्टाका डिएसपी मिन बहादुर लामा, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्री, राप्रपाका नगर अध्यक्ष होम विष्ट, खानेपानीका पूर्व अध्यक्ष सूर्य प्रकाश उप्रेती, धनप्रसाद गुरुङ बाहुनडाँगी खानेपानी उपभोक्ता समितिका अध्यक्ष सनद कुमार अधिकारी लगयतको आतिथ्यता रहेको थियो ।
काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष रोहित कुमार बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यष बुढाथोकीले संस्थाले खानेपानी तथा सरसफाइ क्षेत्रमा गरेका कामको चर्चा गरे । उपाध्यक्ष गोविन्द गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु