सहकारी जीवन जिउने मूल आधार हो : मेयर बुढाथोकी

2024-09-15 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले देश तथा समाजको दिगो विकासको आधार सहकारी भएको बताएका छन् ।
मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न १७ औं माइन्यूट प्रमाणित सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
“आधारभूत वर्गका मानिसहरुले आय आर्जन गर्दै बचत गर्ने र नहुनेहरुले ऋण लिएर त्यसबाट आय आर्जन गर्दै जीवन निर्वाह गर्ने भरपर्दाे माध्यम सहकारी हो ।” कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले भने, “सहकारीको माध्यमले थुप्रै मानिसको जीवन फेरिएको छ । त्यो तथ्याङ्क गणना छैन । त्यसको अभिलेख सहकारीले राख्न जरुरी छ । सहकारी जीवन जिउने मूल आधार हो । ”
निम्न र मध्यम वर्गीय परिवारकोलागि सहकारी बरदान सावित भएको छ । ऋण लिएपछि त्यसले आम्दानी बढाउने गरी आर्थिक उपार्जनमा लगानी गर्नु पर्छ तर पछिल्लो समय फजुल खर्च र गलत ठाउँमा लगानी गर्दा ऋण तिर्नलाई ऋण काढ्ने परिपाटी चलेको छ । बुढाथोकीले भने, “यो परिपाटीले यदस्य मात्र होइन सिंगो सहकारीमा गम्भीर असर पर्न थालेको छ ।”
सिद्यान्तका आधारमा चल्ने सहकारीकोलाई कुनै समस्या नहुँने तर यसको सिद्यान्त नाघेर अघि बढ्न खोज्दा आज धेरै सहकारीहरु जेखिममा रहेको उनले बताए । राज्यले अगाडि सारेका कानून बमोजिम चल्ने र सबैजना इमान्दार बन्ने हो भने सहकारी संस्थामा कुनै किसिमको समस्या नआउँने उनको भनाई थियो ।
ऋण खाएपछि तिर्नु पर्देन भन्ने अर्नगल प्रचारको पछि लाग्न नहुने बताउँदै उनले भने,“राज्य तथा अर्थतन्त्र कमजोर बनाउनेगरी दिएका अभिब्यक्तिले हामीलाई कहाँ पुर्र्याउँछ ।” सहकारीको ऋण तिर्नु पर्दैन भन्नेहरु प्रति लक्षित गर्दै उनले भने,“ सहकारीमा भाइले जम्मागरेकोे पैसा दाजुले लगेको छ , संधीले जम्मा गरेको पैसा अर्काै संधीले ऋण लगेको छ, अव भन्नुहोस् कस्को पैसा कस्ले छुट गर्छ ।
नगरवासीको स्वास्थ्य प्रति गम्भीर देखिएका बुढाथोकीले खानपानमा विशेष ध्यान दिनु पर्न बताए उनले सहकारीसंग समन्वय गरेर उपभोक्ता जागरण अभियान थाल्ने बताए । अखाध्य बस्तुहरु घरभित्र प्रवेश निशेष गर्ने गरी अभियान थाल्ने उनको उनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक धुलाबारीका कार्यालय प्रमुख प्रेम कुमार श्रेष्ठ, गृह लक्षमी बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष रेणुका डाँगी, महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष टिकादेवी सुवेदी, पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका सचिव जीतबहादुर खड्का लगायतले सहकारी प्रति भ्रम छर्नेहरु प्रति सजगरहन आग्रह गरे ।
कार्यक्रममा उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी र एस ईईमा उत्कृष्ट जीपीए ल्याउने छात्र –छात्राहरुलाई नगद सहित सम्मान गरिएको थियो ।
सहकारीले आर्थिक वर्ष २०८०÷०८१ मा मुख्य कार्यालय अन्तरगत रहेर कारोबार गर्ने उत्कृष्ट बचत कर्ता सुस्मा बोगटी, भोजराज जोगी, पप्पु सुनार, प्रमिला घिमिरे ढकाल, रिङ्कु दासलाई सम्मान गरेको छ ।


त्यसैगरी उत्कृष्ट ऋणी तर्फ अस्मिता धिमाल, पूर्णबहादुर कामी सेन्चुरी, कृष्ण कुमारी राई चेम्जोङ, दिलकुमारी क्षेत्री र कविता विश्वकर्मालाई सम्मान गरेको छ ।
त्यसैगरी सदस्यका छोरा छोरी मध्ये एस ईईमा उत्कृष्ट जीपीए ल्याउने प्रितिका पौडेल, र रोमित शिवाकोटीलाई समेत सम्मान गरेको छ ।

सहकारीले वर्ष उत्कृष्ट कर्मचारीको रुपमा स्थापना कालदेखि सेवारत सहकारी संस्थाका ब्यवस्थापक मानस सिटौलालाई सम्मान गरेको छ भने उत्कृष्ट संकलकको रुपमा बुधबारे सेवा कार्यालयकी कर्मचारी कल्पना बास्कोटालाई सम्मान गरेको छ । सम्मानित सबैलाई दोसल्ला ओढाएर खादा र अविर लगाएर सम्मान पत्र प्रदान गरिएको थियो । सहकारीले सम्मान कार्यक्रमलाई क्षेत्रगत सम्पन्न गर्दै आएको थियो । यस अघि भएका इकाईगत साधारण सभामा सहकारीले उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी, सदस्यका छोरा÷ छोरी मध्ये उत्कृष्ट विद्यार्थी, सदस्यहरुलाई स्वास्थ्य राहत वितरण, सुत्केरी सदस्यहरुलाई एम्बुलेन्स खर्च वितरण तथा सन्तानलाभ सुविधा, मृत्यु राहत सुविधा वितरण गरिसकेको छ ।


सहकारी संस्थाका अध्यक्ष शिवक्मार रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष रेग्मीले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । २०६४ सालमा ३१ जना शेयर सदस्यहरुको ३ लाख १० हजार शेयर पूँजीबाट सुरु भएको सहकारीमा हाल ६ करोड, ४२ लाख ५१ ह्जार ९०० रुपैयाँ शेयर पुँजी, ५ हजार ७०५ जना शेयर सदस्य पुगेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सहकारीले यस वर्ष ७ प्रतिशतले शेयर पूँजी बृद्धिगरी ६ करोड ६८ लाख ९५ हजार पुर्याउने लक्ष लिएको छ । सहकारीले गत आर्थिक वर्ष १ करोड ५७ लाख ३३ हजार १६५ रुपैयाा नाफा कमाउन सफल भएको र ऋण जोखिम कोषमा कोष ब्यवस्थापनको निम्ति १५ लाख छुट्याई खुद नाफा १ करोड ४२ लाख ३३ हजार १६५ रुपैयाँ कमाउन सफल भएको प्रतिवेदनमा उल्लख छ ।
अध्यक्ष रेग्मीले यस अघि सहकारीमा १० करोड ५० लाख बाह्यि ऋण भएकोमा हाल त्यसलाई घटाएर १ करोड १ लाख ३ हजार ५६१ रुपैयाँमा झार्न सफल भएको बताए ।
सहकारी संस्थाका उपाध्यक्ष हरिदास ढुंगानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव संगिता गजुरेलले गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु