मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । महिला, बालबालिका तथा समाज कल्याण शाखा, मेचीनगरको आयोजनामा औपचारीक कार्यक्रमसंगै विभिन्न खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मंगलबार मनाइएको हो ।
अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्धनको लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको छ । यस वर्ष “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार” भन्ने राष्ट्रिय नाराका साथ मेचीनगरमा पनि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिइन् ।
मेचीनगरको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै उनले, नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको बताउँदै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा विभेदरहित आर्थिक रुपले समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिइन् ।
अपाङ्गताको आधारमा गरिने विभेदलाई निषेध गर्दै उहाँहरूलाई पनि अन्य नागरिक सरह सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउने संविधानको मर्म हो । त्यसलाई पूर्ण रुपमा पालना गर्न सबै सचेत नागरिक लाग्नुपर्ने मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी बताउँछन् । उनले संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरहरूमा उनीहरूको समान पहुँच स्थापित गर्न आवश्यक रहेको बताए ।
मेचीनगरका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले अझैपनि अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा नकारात्मक भावनाहरू पैदा भइरहेका छन् । त्यसलाई चिर्दै समाजमा परिवर्तन ल्याउन मेचीनगर लागि परिरहेको बताए । उनले अपाङ्गताका क्षेत्रमा कार्यरत सरोकारवाला निकायहरूको कार्यलाई व्यवस्थित बनाई सेवा प्रवाहमा सरलता एवम् एकरूपता ल्याउन तथा अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउने कार्यलाई प्राथमिकतामा राखेर नगरपालिका अगाडी बढीरहेको बताए ।
३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसलाई महत्व दिर्दै नगरपालिकाले विभिन्न रचनात्मक कार्य सम्पन्न गर्दै अभिभावकत्व प्रदान गरेकोमा अपाङ्गताको क्षेत्रमा सेवा गर्नेहरुलाई थप हौसला मिलेको राष्ट्रिय अपाङ्ग महासंघका धर्मराज घिमिरे बताउँछन । उनले यस क्षेत्रमा नगरपालिका अझ उदार भएर लाग्नेमा आफुहरु अझ आशाबादी रहेको बताए ।
कार्यक्रममा पन्द्रवटै वडाका अपाङ्गता भएका मानिसहरुको सक्रिय सहभागिता रहेको उक्त अवसरमा औपचारीक कार्यक्रम पश्चात हन्डी फुटाउने, बिस्कुट दौड, चम्चा दौड, सियो दौड प्रतियोगितालगायतका अतिरिक्त क्रियाकलाप समेत आयोजना गरिएको थियो । उक्त क्रियाकलापमा सहभागि भई प्रथम, द्वितिय, तृतिय र सान्त्वनाहुनेहरुलाई पुरस्कार स्वरुप नगद पाँच हजार, चार हजार, तीन हजार र दुई हजार प्रदान गरिएको मेचीनगर महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिइन् ।
उनका अनुसार बिस्कुट दौड प्रतियोगितामा सोमनाथ न्यौपाने प्रथम, अम्बिका पोखरेल दोस्रो, सुरज तामाङ्ग तेस्रो र विमल खत्रीे सान्त्वना हुँदा सियो दौड प्रतियोगितामा रुपा किसान प्रथम, आशिका पोखरेल दोस्रो, दुर्गा खड्का तेस्रो र रिम्पा राजवंशी सान्त्वना भए । त्यस्तै चम्चा दौड प्रतियोगितामा खगेन्द्र राजवंशी प्रथम, युवराज बस्नेत दोस्रो, हरिमाया कार्की तेस्रो र पवित्रा तामाङ्ग तेस्रो भए । उनीहरु सबै प्रथम, द्वितिय, तृतिय र सान्त्वनाहुनेहरुले समान नगद पाँच हजार, चार हजार, तीन हजार र दुई हजार प्राप्त गरे । त्यस्तै हन्डी फुटाउने खेलमा कसैले पनि फुटाउन नसकेपछि हन्डीको नजिक पुग्ने तीन जनालाई प्रथम पुरस्कार पाँच हजार बराबरी भाग गरि वितरण गरिएको थिया । सुर्जनात्मक कला प्रस्तुती तर्फ निला भट्टराई मुक्तक, पवित्रा तामाङ्ग गायन, मीना गिरी कविता, सुरज तामाङ्ग जीवनी, मन्जिल तामाङ्ग धान नृत्य र विकास कार्कीले नृत्य प्रस्तुत गर्दै पुरस्कार जितेका थिए ।
प्रतिकृया दिनुहोस्