मेचीनगरमा लैंगिक हिंसा र कानुन सम्बन्धी अन्तरक्रिया सम्पन्न

2024-12-06 मा प्रकाशित

मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान विविध कार्यक्रम गरि मनाइरहेको छ । सोही क्रममा नगरपालिकाले अभियानको १२ औं दिन शुक्रबार लैंगिक हिंसा र कानुन सम्बन्धि नगरका सरोकारवाला निकायबिचअन्तरक्रिया सम्पन्न गरेको छ ।

मेचीनगर सभाहलममा उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षता आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नगर प्रमुख बुढाथोकीले लैंगिक हिंसा गर्ने कार्य समाजको कुरीति हो । यसलाई नियन्त्रण गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरू अगाडि सारिएको बताए । त्यस्तै उनले लैंगिक हिंसा गर्नेलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा कार्वाही अगाडि बढाउनुपर्ने बताए । जुनसुकै बहाना र जस्तोसुकै पहुँचमा रहेकाले हिंसा गरेपनि कानुनी दायरामा ल्याएर सजाय दिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय पद र शक्तिको आडमा समाजमा अराजकता फैलाउने विभिन्न किसिमका हिंसात्मक क्रियाकलाप गर्ने र छुट पाउने परिपाटीको गलत नजिर बसाउने प्रयासहरू यताकता सुनिने गरिन्छ । त्यो गलत हो उनले भने, कानुन भन्दा माथि कोही पनि हुँदैन त्यसैले गल्ती गर्ने सबैले कानुनबमोजिम सजायको भागेदार हुनुपर्छ । यसलाई कार्यान्वयन गर्न सम्बन्धि निकाय लाग्नुपर्छ र सचेत नागरिकले लैंगिक हिंसा बिरूद्ध खबरदारी गरिरहनुपर्ने उनको भनाइ छ ।

त्यस्तै उपप्रमुख उप्रेतीले सभ्य समाज निर्माणका लागि बालबालिका, महिला, पिछडिएका वर्ग, समुदायलगायत लैंगिक हिंसा अन्त्य हुन आवश्यक रहेको बताइन् । उनले पछिल्लो समय लैंगिक हिंसा निर्मुलन गर्न नगरपालिका लागि परिरहेको बताइन् । उनले समाजमा समान हक स्थापित गर्न लक्षित वर्गलाई पनि प्रशस्त अवसर आवश्यक रहेको उनको भनाइ छ ।

मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र प्रशासन , योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक हृदय राजवंशी, कविता मिजार, माया प्याकुरेल र अञ्जु थापाको आतिथ्य रहेको थियो ।

सामाजिक विकास शाखा प्रमुख शम्भु पौडेल स्वागत गरेको कार्यक्रम सञ्चालन मेचीनगर महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।

औपचारिक कार्यक्रम पश्चात् अधिवक्ता कविता बास्तोला पाठक र पुष्याञ्जली ठकुरी सिन्हाले सहजीकरण गरेको लैंगिक हिंसा र कानूनका विषयमा अन्तरक्रिया कार्यक्रममा मेचीनगर क्षेत्रमा रहेको महिला संघ संस्थाका प्रमुख, सामुदायिक विद्यालयका प्र।अ, महिला प्रहरी, महिला शाखा प्रमुख तथा वडा सचिवहरुको सक्रिय सहभागिता रहेको थियो ।

सोही अवसरमा उपप्रमुख उप्रेतीले सहभागी सबैलाई सेनिटरी प्याड समेत वितरण गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु