मेचीनगर । झापाको मेचीनगरमा आगामी माघ १२ र १३ गते दुई दिवसीय प्रथम इण्डो नेपाल ताइक्वांडो प्रतियोगिता आयोजना हुने भएको छ ।
काँकरभिट्टा ताइक्वांडो डोजाङको आयोजनामा काँकरभिट्टा स्थित सामुदायिक भवनमा आयोजना हुने प्रतियोगितामा नेपाल तथा भारतका बिभिन्न क्षेत्रबाट २५० बढी खेलाडी सहभागि हुने भएका छन् । आयोजकले शुक्रबार काँकरभिट्टामा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
काँकरभिट्टा ताइक्वांडो डोजाङका प्रशिक्षक विजय न्यौपानेले माघ १२ र १३ गते मेचीनगरमा आयोजना हुने अन्तराष्ट्रिय ताइक्वांडो प्रतियोगिता सेन्सर सिस्टमबाट हुने जानकारी दिए । २७ वटा विद्यामा प्रतियोगिता हुने र कार्यक्रम सम्पन्न गर्न करिव १० लाख खर्चहुने अनुमान आयोजकको छ । सो रकम प्रतियोगितामा सहभागि हुने खेलाडीको इन्ट्रि फी र स्थानीय संघ संस्थाहरुबाट संकलन हुने आयोजकले अपेक्षा लिएको छ । आयोजकले कार्यक्रममा सहभागी खेलाडीहरुलाई खान र बस्नको लागि निःशुल्क प्रवन्ध गरेको छ । आयोजकले नेपाली खेलाडीहरुलाई रु २५०० र भारतीय खेलाडीहरुलाई रु ३५०० भारु इन्ट्रि फी तोकेको छ ।
नेपाल ताइक्वांडो संघ कोशी प्रदेशका कार्यबहाक अध्यक्ष इश्वर विक्रम शाहले नेपाल खेलको लागि उर्भर भूमी रहेको बताए । उनले आइपिएल खेलले खेलाडीहरुलाई खेल प्रति थप उत्साहित बनाएको बताउँदै आगामी दिनमा खेलकुदका कार्यक्रमलाई सरकारले समेत महत्वका साथ बजेट विनियोजन गर्नु पर्ने बताए ।
सो अवसरमा नर्थ बंगाल ताइक्वांडो एसोशिएसनका अध्यक्ष प्रविण प्रधानले प्रतियोगितामा उत्साहका साथ भारका बिभिन्न प्रान्तबाट करिव १५० प्रतियोगी सहभागि हुने जानकारी दिए । उनले प्रतियोगितमा भारतीय टिमको पूर्ण सहयोग रहने समेत बताए ।
पत्रकार सम्मेलनमा सिलगुढी ताइक्वांडो डोजाङका अध्यक्ष प्रदिपता सरकार, नेपाल बक्सिङ संघका कोशी प्रदेशका कोषाध्यक्ष सुधिर तामाङ, तेक्वान्दो संघका प्रदेश सदस्य सञ्जय राई, ताइक्वांडो संघ पूर्व झापा जिल्ला अध्यक्ष प्रदिप श्रेष्ठ, विर्तामोड ताइक्वांडो डोजाङका प्रशिक्षक जेम्स सुब्बा, धुलाबारी ताइक्वांडो डोजाङका प्रशिक्षक दिनेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतियोगिताको संयोजक विशाल गिरी गरेका थिए ।
प्रतिकृया दिनुहोस्