काठमाडौं । पक्राउ परेर दुई महिनादेखि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत विरुद्ध सहकारीको बचत अपचलन गरेको आरोपमा सहकारी ठगीको मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा पेस गरेको अभियोगपत्र अनुसार, यो मुद्दा लामिछाने विरुद्ध सुरु भएको अभियोजन शृङ्खलाको पहिलो मुद्दामात्रै हो ।
अभियोगपत्रमा उल्लेखित विवरण अनुसार, कास्कीपछि रूपन्देही, चितवन, काठमाडौं र पर्सामा पनि सहकागी ठगीको आरोपमा अनुसन्धान र अभियोजन हुनेछ ।
लामिछाने लगायत विरुद्ध संगठित समूह बनाई सहकारी ठगी गरेको आरोप छ । प्रहरीले उनलाई सहकारीको रकम अपचलनबाट गैरकानुनी रूपमा रकम जम्मा गरेको आरोपमा सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएको छ ।
जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर भएसँगै रास्वपा सभापति लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सम्पत्ति शुद्धीकरणको अभियोग गर्दा हुनासाथ सार्वजनिक पदमा रहेको व्यक्ति स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । सरकारी वकिलको कार्यालय, कास्कीले संघीय संसद सचिवालयलाई पत्र पठाएर उनको निलम्बनवारे औपचारिक जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्