झापा । कुनै पनि महान् सफलताको सुरुवात सपनाबाट हुन्छ । प्रायः सपना सुरुवातमा अपत्यरिला हुन्छन् तर, समय परिवर्तनशील छ । मान्छेले आत्मविश्वासका साथ काम गर्ने हो भने असम्भव जस्तो देखिने हरेक काम सम्भव हुन्छ ।
हालै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता विश्व सुन्दरी ताप हिरिन सफल ‘बाह्रदशीको गाउँ पालिकाकी मनिषा राजबंशीले आफ्नो अथक प्रयास, आत्मविश्वास र आफूले प्राप्त गरेको शिक्षाकै जगमा विश्व सुन्दरीको ताज परिरिन सफल भएको बताइन् । आत्मविश्वास, असल संस्कार र शिक्षा भए हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने उनले बताइन् ।
प्रेस क्लव मेचीनगरमा सोमबार आयोजित पत्रकार भेटघाटमा बोल्दै ’हेरिटेज पेटाइट युनिभर्स २०२४’ की बिजेता राजबंशीले शिक्षा, अभिभावकको साथ र आत्मविश्वासका कारण आफुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको बिजेता बन्न सफल भएको उनको भनाइ थियो ।
“अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा उभिएर नेपालको शान र मान बढाउन सक्षम भएकी छु,’ उनले भनिन्, “यसको पहिलो कारण शिक्षा नै हो । त्यसपछि आफ्नो आत्मविश्वास घर परिवारको प्रोत्साहन र समाजको समर्थन मेरो सफलताको आधार हो ।’
हालै थाइल्यान्डको बैंककमा आयोजित उक्त प्रतियोगितामा भारत, मेक्सिको, जापान लगायत ४४ मुलुकका सहभागीले उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए । नेपालकी मनिषा राजबंशी सबैलाई उछिन्दै बिजेता बनिन् । उनले यसअघि ‘मिस राजबंशी’को उपाधि समेत जितिसकेकी छिन् ।
हाल उनी रत्न राज्य लक्ष्मी क्याम्पसमा समाजशास्त्रको स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत छिन् ।
उनले आफु क्षेत्री बाहुनहरुको बाक्लो बस्ती रहेको गाउँमा हुर्किएको जनाउँदै आमा उर्मिला राजबंशीले हरहालतमा पढ्नका लागि प्रेरित गरेको कारण आज सफल भएको बताइन् ।
सौन्दर्य प्रतियोगिता जितेको श्रेय उनले आमा उर्मिला र हजुरआमा दिनु राजबंशीलाई दिइन् । राजबंशी समुदायमा छोरीलाई शिक्षा हासिल गर्न र मोडलिङ जस्तो विधामा खुलेर अघि बढ्ने सहज वातावरण नभएको उनले बताइन् ।
‘खुलेर बोल्दा र हक्की भएर समाजमा अघि बढ्दा समाजमा कुरा काट्ने र खुट्टा तान्नेहरु निस्किन्छन्,’ उनले भनिन् –‘मलाई मेरी आमाले समाजमा अघि बढ, म तिम्रो लागि छु भनेर आत्मविश्वास दिनुभयो । कसले के भन्यो, के नकारात्मक टिप्पणी गर्यो भन्ने विषयमा म वास्तै गर्दिन । आफु ठिक हुनुपर्छ, अरुले कुरा काटेर केही फरक पर्दैन भन्ने मलाई राम्ररी ज्ञान छ ।’
थाइल्यान्डमा हेरिटेज पेटाइट युनिभर्स २०२४को आयोजना भइरहेका बेला आफुले राजबंशी समुदायको भाषा, कला, पहिरन र संस्कृति प्रस्तुत गरेको जनाउँदै उहाँले ४० देशका प्रतिष्पर्धीहरुमा म नै प्रथम हुन्छु भन्ने चाहिँ कल्पना नगरेको बताइन् ।
‘हेरिटेज पेटाइट युनिभर्स २०२४ को विनर नेपाल भनेर एनाउन्स हुँदा सुरुमा मैले पत्याउनै सकेकी थिइन,’ अनपेक्षित खुशीले आफु रातोपिरो बनेको अनुभूति सुनाउँदै उनले भनिन् –‘यत्रो कन्टेस्टमा म कसरी प्रथम हुन्छु होला भन्ने लागेको थियो । साथीहरुले जाउ जाउ तिमीलाई उद्घोषकले बोलाइरहेका छन् भनेपछि उठेर म स्टेजमा पुगेकी थिएँ ।’
नेपाल र राजबंशी समुदायलाई मोडलिङको माध्यमबाट चिनाउन पाएकोमा गर्व लागेको बताउँदै उहाँले आगामी दिनमा सौन्दर्य प्रतियोगितामा सहभागी नहुने उद्घोष गरिन् ।
पत्रकार सम्मेलन लोकतन्त्र पोस्टको मातृ संस्था काजी मिडिया एन्ड टेक्नोलोजीले आयोजना गरेको थियो । मनिसाले छ वर्ष अघि लोकतन्त्र पोस्ट दैनिकमा पत्रकारिता समेत गरेकी थिइन् ।
प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजबंशी समाज विकास समितिका अध्यक्ष उत्तम राजबंशी, नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेल लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन काजी मिडियाकी सञ्चालक एवम् नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको उपाध्यक्ष अम्बिका भण्डारीले गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्