मेचीनगर । मेचीनगर –५ स्थित विश्वेश्वर महादेव मन्दिर परिसरमा बुधबारदेखि सात दिवसीय श्रीमद् भागवत महापुराण सुरु भएको छ ।
पुरान उद्घाटन पूर्व बिभिन्न जातजातिको झाँकी सहित कलश शोभा यात्रा निकालिएको थियो । पुराण स्तलबाट निकालिएको शोभायात्रा माङ्हिम मन्दिर , बालकल्याण मावि, जागरण टोल हुँदै पातालगंगा पुगेर कलशमा जलभरी पुन्यचोक हुँदै पुनः पुराण स्थल पुगेको थियो । कलश यात्रामा सयौंको संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।
गैरी गाउँ टोलविकास संस्थाको आयोजनामा सञ्चालित महापुराणको उद्घाटन मेचीनगर –५ का वडाध्यक्ष कनक बहादुर कार्कीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कार्कीले समाजमा विकृति र विसंगतिको अन्त्य गर्दै असल संस्कारको विकास गर्न धार्मिक जागरणले ठूलो सहयोग पुग्ने बताए । उनले मन्दिर परिसरमा संरचना निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
सो अवसरमा एकरुपता महिला समूहकी अध्यक्ष तेजिमाया राउत, किरात याक्थुङ् चुम्लुङ्का केन्द्रीय सदस्य जीतबहादुर लावती, दोकानडाँडा बोर्डिङ् स्कूलका प्रिन्सिपल नेत्र प्रसाद खतिवडा, ग्रामथान टोलविकास संस्थाका सचिव लिला प्रसाद खतिवडा लगायतले बोलेका थिए ।
मन्दिर समितिले पुराण सफलपार्न कविराज गिरीको अध्यक्षतामा २७ सदस्यीय पुराण आयोजक मूल समिति तथा बिभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारलाई तीब्र पारेको थियो । समितिले पुराण प्रचार प्रसार संयोजकमा भूपेन्द्र गिरी र आर्थिक समिति संयोजकमा विष्णु नारायण श्रेष्ठलाई जिम्मेवारी दिएको छ । समाजमा धार्मिक जागरण ल्याउन र पुराणबाट संकलित रकमबाट मन्दिरकोलागि जग्गा खरिद गर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गरिएको पुराण आयोजक समितिका उपाध्यक्ष इश्वर कुमार श्रेष्ठले बताए ।
माघ ९ गते सम्पन्न हुने सात दिवसीय महापुराणमा आचार्य पं. कृष्ण प्रसाद घिमिरे र उपवाचक पं. कृष्ण प्रसाद भट्टराईले संगीतमय कथा बाचन गर्ने छन् । हरेक साँझ भजन किर्तत तथा झाँकी प्रदर्शन हुने आयोकले जनाएको छ ।
स्व.विश्वनाथ गिरीले १ कठ्ठा जमिन निःशुल्क प्रदान गरेपछि २०६३ सालमा सो क्षेत्रमा विश्वेश्वर महादेव मन्दिर निर्माण गरिएको थियो । मन्दिर परिसर सानो भएकोले थप जमिन खरिद गरेर मन्दिर परिसरमा सामुदायिक भवन निर्माण गर्ने उद्देश्यका साथ पुराण आयोजना गरिएको पुराण आयोजक समितिका अध्यक्ष कविराज गिरीले जानकारी दिए । उनले पुराणमा यथासक्य सहयोग गर्न समेत आग्रह गरे ।
पुराण आयोजक मूल समितिका अध्यक्ष कविराज गिरीको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष इश्वर श्रेष्ठले गरेका थिए भने कार्यक्रको सञ्चालन सचिव पवित्रा गिरीले गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्