मेचीनगरका शिक्षकले घेरे मेचीनगरपालिका, भने–“अब दलको झोला बोक्दैनौं”

2025-04-29 मा प्रकाशित

झापा, १६ वैशाख । आन्दोलनरत मेचीनगरका शिक्षकले आज नगरपालिका परिसरमा विरोध सभा गरेका छन् । सरकारले आफ्ना जायज मागलाई २८ औं दिन सम्म्पनि सम्बोधन नगरेपछि आक्रोशित बनेका शिक्षकहरुले अव उप्रान्त राजनीतिक दलको आवद्धता परित्याग गर्ने उद्घोष समेत गरेका छन् ।

शिक्षा ऐन जारी गर्नु पर्ने लगायतका माग राखी शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन जारी राखिरहेका बेला शिक्षकहरु स्थानीय स्तरमा समेत दवाव सिर्जना गर्न आज स्थानीय पालिका पुगेका थिए । सोही क्रममा मेचीनगरका शिक्षकहरुले आज दिउँसो मेचीनगरपालिका घेराउ गरे ।

परिसरमा ठूलो संख्यामा भेला भएका शिक्षकहरुको तर्फबाट वक्ताहरुले सरकारले आफ्नो मागलाई वेवास्ता मात्र नभएर शान्तिपूर्ण आन्दोलनलाई प्रहरी लगाएर दमन गरेको भन्दै सरकार र प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना गरे । उनीहरुले अब दलको झोला बिसाउने बताएका थिए ।

शिक्षक नेतृ सुभद्रा भट्टराईले सरकारको आँखा खोल्न स्थानीय सरकारको आँगनमा आएको बताउँदै प्रधानमन्त्री ओली र सरकार शिक्षकहरुप्रति अनुदार भएको आरोप लगाइन  ।

“आइतवारसम्ममा माग पूरा भएन भने स्कुलको चावी बोकेर बालुवाटार घेर्न जान्छौं,” उनले भनिन् –“साथीहरुको टाउकामा यो सरकारले लाठी र बुट बजारेको बिर्सेका छैनौं । साथीहरुलाई म आग्रह गर्न चाहन्छु, विद्यालयमा अब राजनीतिक दलको झोला बोकेर नजाऔं ।”

उनले सरकारले विद्यार्थीको खाजाका लागि दिएको रु. १५ प्रति व्यंग्य गर्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरिन् –“प्रधानमन्त्रीज्यू, विद्यार्थीलाई खाजा भनेर १५ रुपैयाँ पठाउनु भएको छ, तर तपाईले पिउने पानीको मूल्य कति हो रु”

नेपाल शिक्षक महासंघ मेचीनगरका पूर्व अध्यक्ष केशव पौडेलले आफैलाई शासन गर्ने प्रणाली चाहियो भनेर आन्दोलनमा जानु पर्ने बिडम्वना शिक्षकहरुले भोगिरहनु परेको जनाउँदै आठ हजार रुपैयाँमा महिनाभर पढाउने शिक्षकहरुको अवस्था सरकारले नबुझेको र तलब बढाउन आन्दोलन गरेको भनेर भ्रम छरिएको बताए ।

अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन मेचीनगरका अध्यक्ष अर्जुन कार्कीले सबै खालका सरकारहरु शिक्षकमैत्री नभएको दावी गर्दै राजनीतिक दलहरुसँगको आवद्धता बारेमा पुनःविचार गर्नु पर्ने अवस्था आएको बताए ।

नेपाल शिक्षक महासंघ मेचीनगरका सहअध्यक्ष मोहन कार्कीको अध्यक्षतामा भएको विरोध सभामा शिक्षकहरु ज्ञानेन्द्र ढुंगाना, शान्ता निरौला, डिबेन्द्र तिवारी लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु