मेचीनगर, ४ भदौ । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा छुट्टै पहिचान स्थापित गर्न सफल मेचीनगर स्थित इस्ट होराइजन अंग्रेजी माविले विद्याथीहरुको सिकाईलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सम्बन्ध लाई समेत उत्तीकै महत्व दिएको छ ।
शिक्षा सँगै अतिरिक्त त्रियाकलापमा नेपाल तथा भारतमै फरक पहिचान स्थापित गर्दै आएको यस विद्यालय यतिखेर चीनको फुजियान राज्यस्थित झाङझाउ कलेजको नजरमा परेको छ ।
नयाँ टेक्नोलाजिलाई पछ्याउँदै विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न सफल यस विद्यालय चीनको फुजियान राज्यस्थित झाङझाउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीसँग भगिनी सम्बन्ध स्थापित गर्ने भएको छ ।
विद्यालयले बुधबार (आज) पत्रकार सम्मेलन आयोजना गरेर इस्ट होराइजनमावि र झाङझाउ कलेजबीच विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न दुई विद्यालयबीच भगिनी सम्बन्ध स्थापना गर्न लागिएको जानकारी दिएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले दुई विद्यालय बीचको भगिनी सम्बन्धले विद्यालयले शैक्षिक क्षेत्रमा ठूलो उपलब्धी हाँसिल गर्ने बताए । ‘हामी विद्यार्थीहरुको जीवनलाई सफल बनाउँने अभियानमा छौ’, प्रिन्सिपल राईले भने, ‘जीवन उपयोगी सीप र शिक्षा दिनु हाम्रो कर्तब्य हो । त्यसैले नयाँ कुराको खोजीमा छौं ।’ भगिनी सम्बन्ध स्थापना पछि संयुक्त रूपमा पाठ्यक्रम निर्माण गर्नुका साथै शिक्षक तथा प्राध्यापक क्षमता विकास, विद्यार्थी आदानप्रदान कार्यक्रम, उद्योग–अनुरूप व्यावसायिक तालिम लगायतका विषयमा दुई शैक्षिक प्रतिष्ठानबीच सहकार्य हुने उनको भनाइ छ ।
त्यस्तै, कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले चियासम्बन्धी ज्ञानलाई स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यवस्थित रूपमा अध्ययन र अभ्यास गर्ने अवसर पाउने विद्यालयले जनाएको छ ।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले विभिन्न देशका परम्परा, संस्कार र चिया पिउने सांस्कृतिक दृष्टिकोणबारे अध्ययन गर्नेछन् । चिया उत्पादनपछि हुने प्रोसेस सम्बन्धी अध्ययन, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन ब्रान्डिङ रणनीति, प्याकेजिङ डिजाइन र प्रचार–प्रसारको सीप सिक्ने बताइएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रियस्तरको ल्याब अध्ययन, गुणस्तर परीक्षण, स्वाद पहिचान, सुगन्धको वैज्ञानिक विश्लेषण, नयाँ प्रजाति विकास र आधुनिक परीक्षण उपकरणहरूको अनुभव लिनेछन् ।
यस कार्यक्रमले दुई देशबीचका विद्यार्थीबीच संस्कार र संस्कृति आदानप्रदान हुने विश्वास लिइएको विद्यालयका शिक्षक महेश खड्काले जानकारी दिए । यसैबीच, विद्यालय आफैँले निर्माण गरेको तीजविशेष भिडियो पनि सार्वजनिक गरिने पत्रकार सम्मेलनमा नृत्य निर्देशक दिवस गिरीले जानकारी दिए ।
विद्यालयले आपसी सद्भाव बढाउने उद्देश्यसाथ यही शुक्रबार तीजको अवसरमा विद्यालयका शिक्षिकाहरुबीच मैत्रीपूर्ण फुटबल खेल समेत आयोजना गर्ने भएको छ ।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक विकास ग्वालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्