डम्बर बराल
मेचीनगर । काम गर्ने बलियो इच्छाशक्ति र सीप भए जीवन सफल हुन्छ, यो उदाहरण प्रस्तुत गरेकी छिन् । मेचीनगर ७ की इन्दु लिम्बूले ।
छिमेकी दिदीले तान बुनेको देखेर तीन वर्ष अघि घरैमा कपडा बुन्ने तान सञ्चालन गरेकी इन्दुको यतिखेर त्यही तान जीवन निर्वाहको भरपर्दाे माध्यम बन्न थालेको छ ।
‘हिजो फुर्सदको समयमा सुरु गरेको व्यवसाय आज जीवन धान्ने माध्यम बनेको छ’ (इन्दुले भनिन्, छिमेकी दिदीले काम गरेको देख्दा आँफूलाई पनि रहर लाग्यो, दिदीले तान बुनेकै देखेर काम सिकेँ त्यसपछि आफैले तान सुरु गरेँ, आज ग्राहकको माग धान्न मुस्किल हुन थालेक छ ।
छोराछोरीलाई स्कुल पढाएर घरको काम धन्दा सकेपछि फुर्सद निकालेर उनले ढाकाको कपडा, व्लाउज, म्याक्सि लगायत बिभिन्न किसिमका कपडा बनाएर विक्री गर्दै आएकी छिन् । माग अनुसार कपडा बुन्दै आएकी उनले एक महिनादेखि भने ढाकाको साडी बुन्न थालेको बताइन् ।
उनलाई सीप सिक्न टाढा जानै परेन, नत उनले सीप सम्बन्धी कुनै तालिम नै लिइन् । अरुले बुनेको देखेर उत्साहित बनेकी इन्दु आफ्नो बलियो इच्छा शक्तिको कारण आज आकर्षक डिजाइनका कपडा उत्पादन गरिरहेकी छिन् ।
बजारको कुनै अभाव छैन, उत्पादन चाहीँ गर्न सक्ुन पर्छ, जति पनि विक्री हुन्छ । एकजना व्यक्तिले एक महिनामा १० वटासम्म साडी बनाउन सकिने बताउँदै उनले घरका सबै काम भ्याएर पनि मासिक रुपमा कम्तिमा २५ हजार रुपैयाँ सम्म कमाइ हुने गरेको बताइन् ।
उनले तान बुनेरै परिवारको सम्पूर्ण खर्च घानेको बताइन् । श्रीमान् रोजथगारीको सिलसिलामा भारतीय प्रहरीमा हुनु हुन्छ, बुबा बैनी र दुईजना नानीहरु घरमा छौ, नानीहरुको पढाइ खर्चदेखि दैनिक घर खर्चसमेत यसै पेशाले धानेको उनले बताइन् । यो व्यवसायगर्नेहरुले कोठा भाडामा लिएर पनि नाफा कमाएका छन् मैले त कोठा भाडा पनि तिर्नु पर्देन आफ्नै घरमा तान सञ्चालन गरेकी छु, म आफ्नो पेशा र व्यवसयमा सन्तुष्ट छु । उनले खुसी व्यक्त गरिन् ।
उत्पादन गरेको कपडाहरु स्थानीय बजार, धुलाबारी बिर्तामोड लगायतका क्षेत्रमै खपत हुने गरेको उनको भनाइ छ । सुरुमा ३५ हजार रपैयाँमा तान खरिद गरेर एकल व्यवसाय सुरु गरेकी इन्दु आगामी दिनमा तान व्यवसायमा रुची राख्ने र सीप सिक्न चाहने दिदी बहिनीहरु आएको खण्डमा व्यवसायलाई बृहत बनाउने आफ्नो योजना रहेको सुनाइन । उनले सीप सिकेर आत्म निर्भर बन्न स्थानीय महिला दिदी बहिनीहरुलाई प्रोत्साहित समेत गर्र्दै आएकी छिन् ।

प्रतिकृया दिनुहोस्