ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी लिँदै मेचीनगरका हर्कबहादुर

2025-10-14 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । काम गर्ने जाँगर र आँट भए कृषि पेशाबाटै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन यतिखेर मेचीनगर– ५ का हर्क बहादुर थङ्गम्बा ।
चार वर्ष अघि ड्रागन खेती सुरु गरेका उनले यतिखेर मनग्य आम्दानी लिन थालेका छन् ।
आफ्नो थोरै लगानीबाट व्यवसायिक ड्रागन खेतीमा प्रवेश गरेका थङ्गम्बा छोटो अवधिमै आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनी यतिखेर उत्साहित बनेका छन् ।
मेचीनगर – ५ राममन्दिर टोलका अगुवा तथा मेहनती किसान थङ्गम्बाले चार वर्ष अघि ६३ वटा पिलरमा ड्रागन फ्रुटका विरुवा रोपेर व्यवसायको रुपमा ड्रागन फ्रुटको खेती सुरु गरेका हुन् । विरुवा रोपेको दोस्रो वर्षबाटै आम्दानी लिन थालेपछि उत्साहित बनेका उनले २ वर्ष अघि पुनः ४८ वटा पिलर थपेर थप विरुवा रोपे । हाल ११३ वटा पिलरबाटै उनले आम्दानी लिन थालेका छन् ।
फल टिप्दै गरेको अवस्थामा भेटिएका थङ्गम्बाले उत्साहित हुँदै भने, ‘होलाकी नहोला भन्दै रोपेको थिएँ, आज रहरलाग्दो किसिमले फल फल्न थालेको छ । आगामी दिनमा थप खेती विस्तार गर्ने सोचमा छु ।’
उनले सुरुमा स्थानीय केदार भट्टराईकोबाट रातो फल फल्ने मलेसियन जातको विरुवा प्रतिगोटा रु ३०० का दरले खरिद गरेर ल्याएर रोपेको बताए । दोस्रो वर्षबाटै उत्पादन दिनुका साथै विरुवा समेत घरमै उत्पादन हुन थालेपछि थप विरुवा रोपेर हाल करिव चार कठ्ठा जमिनमा खेती विस्तार गरेको उनको भनाइ छ ।
लामो समयसम्म भारतीय सेनामा जागीरे जीवन बिताएका उनी जागीरबाट अवकाशपछि भने समाजसेवा र व्यवसायीक कृषि कर्ममा जीवन विताइरहेका छन् । चिया खेती र मकै खेतीलाई प्राथमिकता दिँदै आएका थङ्गम्बा पछिल्लो समय ड्रागन खेतीमा होमिएपछि भने उनको दैनिकी नै फेरिएको छ । विहान सबेरै उठ्नु, पशु चौपायाकोलागि खोलेपानी गर्नु र त्यपछि ड्रागन खेतीको स्याहार सुसारमा निस्कनु उनको दैनिकी नै हो । उनी ड्रागन खेतीमा टहलिन्छन् । रोग कीरा लाग्योकी हेर्छन् । विरुवा गोड्मेल गर्छन् । अनि पाकेका फल टिप्छन् । त्यसपछि नजिकैको बजारमा विक्रीको लागि पुर्याउँछन् ।
‘विक्रीको लागि बजारको समस्या छैन,’ उनले भने, ‘बारीबाटै प्रतिकेजी ४०० रुपैयाँमा फल बिक्री हुन्छ । त्यसपछि स्थानीय इटाभट्टा, धुलाबारी बजारमा समेत विक्रीकोलागि पुर्याउँछु सबै विक्री हुन्छ ।’ एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दोस्रो वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीवालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने उनले बताए ।
थङ्गम्बाका अनुसार यस वर्ष चार महिनामा रु १ लाख ३८ हजार ४०० रुपैयाँको को ३४६ केजी केजी फल विक्री भएको छ । कृषि पेशामा फाइदा नहुने भनाइलाई गलत सावित गर्दै व्यावसायिक ड्रागन फ्रुट खेतीमा उनी रमाइरहेका छन् । उनको सफलताको पछि उनकी श्रीमती हर्कमती र छोरा प्रभाषको ठूलो हात छ । परिवारका सबै सदस्य ड्रागन खेतीमा जुट्ने गरेका छन् । ‘गोडमेल र मलखाद् व्यवस्थापनमा आफै जुट्छौं,’ उनले भने, ‘खटे अनुसार कमाइ पनि राम्रै छ । परिवारको खर्च धानेको छ ।’
फूल फुलेको ३० औं दिनमा फल पाकेर खानको लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने उनले बताए । जुनसुकै माटो र मौसम समेत ड्रागन फ्रुटको लागि उपयुक्त हुने उनको भनाइ छ । ड्रागन फ्रुट रोपेको २५ वर्षसम्म उत्पादन लिन सकिन्छ । वैशाखदेखि मंसिरसम्म मुख्य रुपमा फल दिने ड्रागन फ्रुट वर्षमा आठ महिनासम्म फल्ने गर्दछ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु