मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत साधारण सभा धमाधम हुँदै, आज क्षेत्र २ को साधारण सभा सम्पन्न

2025-11-27 मा प्रकाशित

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्था लि.को २६ औं वार्षिक  साधारण सभा अन्तर्गत बिहीबार क्षेत्रनम्बर २ को क्षेत्रगत साधारण सभा सम्पन्न भएको छ ।
सहकारीले बिहीबार मेचीनगर –८ स्थित श्री कृष्ण व्यासाश्रमको सभाहलमा साधारण सभा सम्पन्न गरेको छ । सो साधारण सभामा सहकारीको क्षेत्रनम्बर २ अन्तर्गत मेचीनगर ५ र ८ का सदस्यहरु सहभागि बनेका थिए ।
मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्व तथा मेची कृषक सहकारी संस्थाका पूर्व उपाध्यक्ष तथा ज्येष्ठ सदस्य कुलदिप गिरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि गिरीले सदस्यहरुले अझै पनि सहकारीको महत्व र सहकारीमा सदस्यहरुको भूमिका र जिम्मेवारी बुझ्न नसकेको भन्दै दुःख व्यक्त गरे ।


उनले सहकारीलाई मजदुत बनाउँदै सदस्यहरुको जीवन स्तर माथि उठाउन सदस्यहरु कै भूमिका महत्वपूर्ण हुने धारणा समेत राखे । संस्थालाई कस्तो ट्रयाकबाट अघि बढाउने भन्ने कुरा साधारण सभाले तय गर्ने भएकोले सबै सदस्यहरुले बन्द सत्रमा घनिभूत छलफल गर्न समेत उनले आग्रह गरे ।


कार्यक्रममा मेची कृषक बहुमुखी सहकारी संस्थाका उपाध्यक्ष एवम् जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले सहकारी एैंचो पैंचोको प्रारम्भीक रुप भएको बताउँदै अनुशासित, मर्यादित र समृद्ध समाज निर्माणमा सहकारीको महत्वपूर्ण भूमिका महत्वपूर्ण हुने बताए ।
पछिल्लो समय सहकारीबाट चलाएको ऋण तिर्नु पर्दैन भनेर केही व्यक्तिहरुले चलाएको अफवाका पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘एउटा सदस्यहरुले दुःख गरेर बचत गरेको पैसा अर्काे सदस्यले गर्जाे टार्न ऋण लिएको हुन्छ । अनि कसरी त्यो ऋण छुट हुन्छ ? के बचत गर्ने सदस्यले आफ्नो पैसा अनुदानमा दिन सक्छ ? उनले प्रश्न गरे ।
उनले हाल देशभर ३३ हजार बढी सहकारी रहेको र केही सहकारीका सञ्चालक समिति र कर्मचारीको लापरवाहीका कारण देशभरका सहकारी यतिखेर बदनाम हुँदै गएको बताउँदै सहकारीको मुल्य मान्यता र सिद्यान्त भित्र रहेर सहकारी सञ्चालनमा जोड दिए । उनले मेचीनगरका एक दुईवटा सहकारी बाहेक सबै सहकारी विधि र पद्धती अनुसार सञ्चालन भइरहेको दावी समेत गरे ।


कार्यक्रममा सहकारी संस्थाका निवर्तमान व्यवस्थापक दीपक काफ्लेले साधारण सभामा सहकारीको वर्षभरीका कार्यक्रमको समिक्षा र आगामी योजनाको तर्जुमा गरिने भएकोले सभारण सभालाई हल्का रुपमा लिन नहुने बताए । उनले सहकरीलाई सहिबाटोबाट अघि बढाउन सदस्यहरुको भूमिका महत्वपूर्ण हुने भएकोले बन्दसत्रमा घनिभूत छलफल गर्न आग्रह समेत गरे ।
सो अवसरमा मेचीनगर – ५ का पूर्व वडाध्यक्ष योगेन्द्र थापाले ग्रामिण क्षेत्रमा रहेर पनि मेची कृषक सहकारीले सदस्यहरुको भावनालाई आत्मसाथ गर्दै अग्रगतिमा काम गरिरहेको भन्दै कार्यसमितिको प्रशंसा गरे । उनले सहकारीले सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएर काम गरिरहेको भन्दै खुसी समेत व्यक्त गरे ।


सो अवसरमा संस्थाका अध्यक्ष हरि बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै मेची कृषक सहकारी, सहकारीको मुल्य मान्यता र सिद्यान्त अनुसार गतिशील ढंगबाट अघि बढीरहेको बताए । उनले सहकारीले सदस्यहरुको हितमा बिभिन्न आयामको कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै आगामी दिनमा सदस्य केन्द्रित कार्यक्रमलाई थप प्राथमिकता दिएर अघि बढ्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
२०५६ सालमा ७८ जना सदस्यहरुको ३९ हजार शेयर पूँजीबाट सुरु भएको सहकारीमा हाल ६ करोड २८ लाख ३७ हजार तीन सय ३६ सेयर पुँजी, ९ हजार ४५० शेयर सदस्य पुगेको त्यसैगरी कोष हिसाब ६ करोड ६३ लाख ७१ ह्जार ९७२ रुपैयाँ २६ पैसा, कुल बचत मौजदात ४३ करोड, ८१ लाख ४१ ह्जार ५४३ रुपैया रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले मेचीनगर – ८ स्थित सिर्जना चोकमा सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्र सञ्चालन गरेको छ भने धुलाबारी, काँकरभिट्टा र भृकुटीमा गरी तीनवटा सेवा केन्द्र समेत हाल सञ्चालन गरिरहेको छ । सहकारीले विजबृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
सो अवसरमा लेखा सुपरिवेक्षण समितिका संयोजक कमलप्रसाद बास्तोलाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बन्द सत्रले अध्यक्षको प्रतिवेदन तथा खेला समितिको प्रतिवेदन समेत पारित गरेको छ ।
कार्यक्रममा सञ्चालक सदस्य साजना श्रेष्ठ, माधव आचार्य, कमल थापा, श्यामलाल दाहाल, भवनाथ दाहाल, लेखा सुपरिवेक्षण सदस्य शान्ति चौधरी, सामुदायिक पोष्ट हार्भेष्टका सञ्चालक सदस्य जगत गिरी,
क्षेत्रीय समिति सदस्य उमाकान्त रिजाल लगायतको आतिथ्यता रहेको थियो ।
सहकारी संस्थाका सञ्चालक सदस्य तथा क्षेत्रीय संयोजक सूर्य अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका व्यवस्थापक विनोद ओझाले गरेका थिए ।


सहकारीले बुधबार भृकुटी स्थित सेवा केन्द्र अन्तर्गत क्षेत्र १ बाट साधारण सभा सुरु गरेको थियो । भने भोलि मंसिर १२ गते शुक्रबार मेचीनगर – ७ स्थित विष्णु लक्ष्मी मन्दिरमा क्षेत्र ३, ४ र ५ अन्तर्गतको क्षेत्रगत साधारण सभा सम्पन्न हुने समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु