मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्था लि.को २६ औं वार्षिक साधारण सभा अन्तर्गत बिभिन्न क्षेत्रको क्षेत्रगत साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
सहकारीले शुक्रबार मेचीनगर –७ स्थित श्री बिष्णु लक्ष्मी मन्दिरको सभाहलमा क्षेत्रगत साधारण सभा सम्पन्न गरेको हो । बुधबार क्षेत्र १ अन्तर्गत भृकुटीबाट साधारण सभाको शुभारम्भ गरिएको थियो ।
मेची कृषक सहकारी संस्थाका संस्थापक अध्यक्ष नारायण बहादुर बस्नेतको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि बस्नेतले २५ वर्ष अघि रु ५ सय रुपैयाँ प्रतिव्याक्ति संकलन गरेर ७८ जना शेयर सदस्यहरुको ३९ हजार शेयर पुँजीबाट सुरु भएको सहकारीले सदस्य केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आज कोशी प्रदेशमै फरक पहिचनाका साथ स्थापित हुँदै गएको भन्दै खुशी व्यक्त गरे ।
‘सदस्य केन्द्रित कार्यक्रम हाम्रो प्राथमिकता थियो’, उनले भने, त्यसले आज सार्थकता पाइरहेको छ, कृषि उपज कार्यक्रमले मेची कृषक प्रदेशमै फरक पहिचानका साथ स्थापित हुँदै गएको छ । यो सदस्यहरुको मायाँ, विश्वास र सञ्चालक समितिको सक्रियताको संयोजन हो ।’
उनले सदस्यहरु नै सहकारीको खास मालिक भएकोले साधारण सभाको बन्द सत्रमा विशेष समय दिएर वार्षिक समिक्षा गर्न र आगामी योजनाको बारेमा छलफल गर्न आग्रह समेत गरे ।

कार्यक्रममा मेची कृषक बहुमुखी सहकारी संस्थाका उपाध्यक्ष एवम् जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले सहकारी एैंचो पैंचोको प्रारम्भीक रुप भएको बताउँदै अनुशासित, मर्यादित र समृद्ध समाज निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए ।
पछिल्लो समय सहकारीबाट चलाएको ऋण तिर्नु पर्दैन भनेर केही व्यक्तिहरुले चलाएको अफवाका पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘एउटा सदस्यहरुले दुःख गरेर बचत गरेको पैसा अर्काे सदस्यले गर्जाे टार्न ऋण लिएको हुन्छ । अनि कसरी त्यो ऋण छुट हुन्छ ? के बचत गर्ने सदस्यले आफ्नो पैसा अनुदानमा दिन सक्छ ? उनले प्रश्न गरे ।
उनले हाल देशभर ३३ हजार बढी सहकारी रहेको र केही सहकारीका सञ्चालक समिति र कर्मचारीको लापरवाहीका कारण देशभरका सहकारी यतिखेर बदनाम हुँदै गएको बताउँदै सहकारीको मुल्य मान्यता र सिद्यान्त भित्र रहेर सहकारी सञ्चालनमा जोड दिए । उनले मेचीनगरका एक दुईवटा सहकारी बाहेक सबै सहकारी विधि र पद्धती अनुसार सञ्चालन भइरहेको दावी समेत गरे ।

सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै मेची कृषक सहकारी, सहकारीको मुल्य मान्यता र सिद्यान्त अनुसार गतिशील ढंगबाट अघि बढीरहेको बताए । उनले सहकारीले सदस्यहरुको हितमा बिभिन्न आयामको कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै आगामी दिनमा सदस्य केन्द्रित कार्यक्रमलाई थप प्राथमिकता दिएर अघि बढ्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
२०५६ सालमा ७८ जना सदस्यहरुको ३९ हजार शेयर पूँजीबाट सुरु भएको सहकारीमा हाल ६ करोड २८ लाख ३७ हजार तीन सय ३६ सेयर पुँजी, ९ हजार ४५० शेयर सदस्य पुगेको त्यसैगरी कोष हिसाब ६ करोड ६३ लाख ७१ ह्जार ९७२ रुपैयाँ २६ पैसा, कुल बचत मौजदात ४३ करोड, ८१ लाख ४१ ह्जार ५४३ रुपैया रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीले मेचीनगर – ८ स्थित सिर्जना चोकमा सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्र सञ्चालन गरेको छ भने धुलाबारी, काँकरभिट्टा र भृकुटीमा गरी तीनवटा सेवा केन्द्र समेत हाल सञ्चालन गरिरहेको छ ।
सो अवसरमा लेखा सुपरिवेक्षण समितिका संयोजक कमलप्रसाद बास्तोलाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बन्द सत्रले अध्यक्षको प्रतिवेदन तथा खेला समितिको प्रतिवेदन समेत पारित गरेको छ ।
कार्यक्रममा सञ्चालक सदस्य साजना श्रेष्ठ, माधव आचार्य, कमल थापा, श्यामलाल दाहाल, भवनाथ दाहाल, लेखा सुपरिवेक्षण सदस्य शान्ति चौधरी, क्षेत्रीय समिति सदस्य उमाकान्त रिजाल लगायतको आतिथ्यता रहेको थियो ।
३ नम्बर क्षेत्रका क्षेत्रीय संयोजक देवी बहादुर खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका व्यवस्थापक विनोद ओझाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्