काँकरभिट्टा । मेचीनगरकै सबै भन्दा पुरानो सहकारी संस्था महेन्द्रद्वार सहकारी संस्थाको ३६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहालको सभापतित्व तथा राष्ट्रिय सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि सापकोटाले कुनै बेला देशकै उत्कृष्ट बनेको महेन्द्रद्वार सहकारी आज थला परेको अवस्थामा रहेको भन्दै यसलाई उठाउन सञ्चालक समिति र सदस्यहरुको उत्तीकै महत्वपूर्ण भूमिका हुने बताए ।

‘यो मेचीनगर भित्र रहेका सहकारीहरुको मात्री संस्था हो’, उनले भने, आज आमा विरामी हुनुहुन्छ । कहिले आइसीयुमा, त कहिले भेन्टीलेटरमा राखेर उपचार गर्नु पर्याे । अब भने यतिखेर केही सुधार भएर नर्मल बेडमा सारिसकेको अवस्था छ । सबैले मिलेर राम्रो स्याहार सुशाार गरौं पहिलेकै अवस्थामा फर्काउन सकिन्छ । उनले सञ्चालक समितिलाई हौसला दिँदै चुनौति र अवसर दुबै सञ्चालक समितिलाई आएको बताए ।
पछिल्लो समय सहकारीबाट चलाएको ऋण तिर्नु पर्दैन भनेर केही व्यक्तिहरुले चलाएको अफवाका पछि नलाग्न आग्रह गर्दै उनले भने, ‘एउटा सदस्यहरुले दुःख गरेर बचत गरेको पैसा अर्काे सदस्यले गर्जाे टार्न ऋण लिएको हुन्छ । अनि कसरी त्यो ऋण छुट हुन्छ ? के बचत गर्ने सदस्यले आफ्नो पैसा अनुदानमा दिन सक्छ ? उनले प्रश्न गरे ।
उनले हाल देशभर ३३ हजार बढी सहकारी रहेको र केही सहकारीका सञ्चालक समिति र कर्मचारीको लापरवाहीका कारण देशभरका सहकारी यतिखेर बदनाम हुँदै गएको बताउँदै सहकारीको मुल्य मान्यता र सिद्यान्त भित्र रहेर सहकारी सञ्चालनमा जोड दिए । उनले मेचीनगरका एक दुईवटा सहकारी बाहेक सबै सहकारी विधि र पद्धती अनुसार सञ्चालन भइरहेको दावी समेत गरे । प्रमुख अतिथि सापकोटाले सहकारीबाट लिएको ऋण समयमा सदस्यहरुले फिर्ता नगर्दा पनि सहकारीहरुमा समस्या हुने गरेको बताए ।

कार्यक्रममा आधुनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल थापा, काँकरभिट्टा खुद्रा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूपाल सिवाकोटी, महिला नेत्री विना तामाङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा अध्यक्ष दाहालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । भने लेखा संयोजक ले लेखा प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा पानस कृषि सहकारी संस्थाका अध्यक्ष महेन्द्र मल्ल, साना किसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक पोषक कुमार दर्जी, नेपाल मधुमेह प्रतिष्ठानका अध्यक्ष मेदनी प्रसाद खरेल, समाजसेवी बन्दनकुमार मुण्डा लगायतको आतिथ्यता रहेको थियो ।
सहकारी संस्थाका उपाध्यक्ष युद्धराज ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य प्रकाश ढुंगानाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्