मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार थुनामुक्त भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर खुसीयाली मनाएको छ ।
यसै क्रममा ,राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर समितिले समेत शुक्रबार साँझ ४ बजे काकरभिट्टा स्थित हनुमान मन्दिर परिसरमा कोण सभा आयोजना गरेर खुसीयाली साटासाट गरेको छ ।
सो अवसरमा पार्टी अध्यक्ष रवि लामिछानेको रिहाइकोलागि यस अघि सञ्चालन गरिएको हस्ताक्षर अभियानमा सहयोग गर्नुहुने पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरु प्रति धन्यवाद ज्ञापन गरिएको थियो ।
कोण सभामा बोल्दै झापा क्षेत्र नम्बर १ का संयोजक असिम दाहालले शान्तिपूर्ण आन्दोलन तथा हस्ताक्षर अभियानमा सहभागी सम्पूर्ण आम नागरिकप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशबाट समानुपातिक तर्फका उम्मेदवारहरूको प्रारम्भिक नाम सार्वजनिक भइसकेको समेत जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष तर्फ पार्टीले उम्मेदवारीका लागि आह्वान गरिएको जानकारी दिँदै, झापा क्षेत्र नम्बर १ मा बसोबास गर्ने सक्षम, इमानदार, साहसी र जनमुखी व्यक्तित्वहरूलाई लोकतान्त्रिक पद्धतिअनुसार उम्मेदवारी दिन आग्रह समेत गरे ।
यसै क्रममा उनले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ आफूले उम्मेदवारी दिएको घोषणा गर्दै, लोकतान्त्रिक पद्धतिमा आधारित भएर अगाडि बढ्न आम नागरिकसँग सहकार्य र समर्थनको लागि अपिल समेत गरे ।
सो अवसरमा केन्द्रीय संगठन विभागका सदस्य ओम भण्डारी, कोशी प्रदेश सदस्य प्रेमसागर घिमिरे, जिल्ला सह–सचिव भिम कुँवर, लगायतका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कोण सभाको सभापतित्व राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर समितिका सभापति सन्तोष राजबंशीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्