बालकल्याण माविमा मेचीनगर स्तरीय अन्तरमावि फुटबल प्रतियोगिता सुरु

2026-01-04 मा प्रकाशित

मेचीनगर  । मेचीनगर –५ स्थित बालकल्याण माविको खेल मैदानमा आइतबारबाट नगर स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता सुरु भएको छ ।
बालकल्याण माविको हामी स्वयमसेवी समूह (बाल क्लव) को आयोजनामा आयोजित फुटबल प्रतियोगितामा मेचीनगर क्षेत्रमा रहेका १६ वटा सामुदायिक तथा निजी विद्यालयहरुले सहभागिता जनाएका छन् ।
फुटबल प्रतियोगिताको उद्घाटन मेचीनगर– ५ का वडाध्यक्ष कनक बहादुर कार्कीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कार्कीले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य जीवनको लागि खेलको ठूलो महत्व रहेको बताए ।
बालक्लबकी अध्यक्ष लिलादेवी बुढाथोकीको सभापतित्वमा आयोजित कार्यक्रममा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरी, शि.अ.स. अध्यक्ष शुभाष लिम्बू, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रंगलाला गिरी, अनन्त कुमार दाहाल, दिलिप सुब्बा लगायतको आतिथ्यता रहेको थियो ।


आइतबार भएको उद्घाटन खेलमा आठ वटा टिमले सहभागिता जनाएका थिए । जसमध्ये पहिलो खेल आयोजक विद्यालय बालकल्याण मावि र पशुपति माविबीच प्रतिष्पर्धा भएको थियो । सो प्रतियोगितामा बालकल्याण मावि १ –० को अन्तरले विजयी भएको छ ।


त्यसैगरी दोस्रो खेल ज्यामिरगढी मावि र सरस्वती मावि बीच भएको थियो । सो खेलमा ४ – १ को अन्तरले ज्यामिरगढी मावि विजयी भयो ।
त्यसैगरीे तेस्रो खेल अरनिको मावि र पवित्र माविबीच भएको थियो । सो खेलमा अरनीको मावि १ –० को अन्तरले विजयी भयो । आइतबार नै भएको चौथो खेल भने भानु मावि र जनता माविबीच कडा प्रतिष्पर्धा भएको थियो । कडा प्रतिष्पर्धाका बीच दुबै टिमले २, २ गोल गर्न सफल भएपछि खेल ट्राईवेकरमा धकेलिएको थियो । ट्राईवेकरमा जनता माविका खेलाडीले गरेको १ गोलको प्रहारलाई भानु माविले रक्षा गर्दै जीत आफ्नो पक्षमा पार्न सफल भएको छ । सो खेलमा ७ –६ को अन्तरले भानु मावि विजयी भयो । यो जीतसँगै बालकल्याण , ज्यामिरगढी मावि, अरनिको मावि र भानुमावि सेमी फाइनलमा प्रवेश गरेका छन् ।
भोलि सोमबार मे.ज.स. मावि र सरस्वती बालकल्याण, आदर्श मावि र झापा नेशनल । काँकरभिट्टा मावि र शहिद दशरथचन्द्र मावि त्यसैगरी धुलाबारी मावि र हिमालयन इङलिस एकाडेमी बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । फाइनल खेल भने २५ गते हुने छ ।
विद्यालयका सहायक प्रधानाध्यापक राजीव गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक कुलमणी भण्डारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु