काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको ३० औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । खानेपानीको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तामाङले साधारण सभालाई सम्बोधन गर्दै सरकारले खानेपानी संस्थाबाट लिने २५ प्रतिशत शुल्कको विरोध जनाए ।
उनले सरकारले ल्याएको उक्त निर्णय विरुद्ध सदनमा आवाज उठाउने समेत बताए । उनले पानीको महत्वलाई बुझेर यसको दुरुपयोग रोक्नुपर्नेमा जोड समेत दिए ।
संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले उद्घाटन सत्रको अध्यक्षता गर्दै सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले २४ घण्टा नै पानी वितरण गरिहेको उनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सो अवसरमा कोशी प्रदेशका निर्वतमान सांसद श्रीप्रसाद मैनाली, मेचीनगरका निर्वतमान प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेतीलगायतले आफ्नो धारणा राखेका थिए ।
सभाको उद्घाटन सत्रमा ज्येष्ठ नागरिक अमिकादेवी ढुंगेल र दिलबहादुर गुरगाईंलाई सम्मान गरिएको थियो । यसैगरी, संस्थामा २५ वर्षसम्म अनवरत सेवा गर्ने कर्मचारी सवारी चालक खेमराज खतिवडालाई नगद ७ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको संस्थाका कार्यालय प्रमुख पोखरेलले बताए । संस्थाका सचिव विशाल तामाडले सन्चालन गरेको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष गोविन्द गिरीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्