बौद्धमोडमा भिडियो डान्स प्रतियोगिता आयोजना हुँदै, अनलाइनमार्फत पहिलो पटक प्रतिभाको खोजी

2026-02-14 मा प्रकाशित

बौद्धमोड । नयाँ प्रतिभाको खोजी गर्ने उदेश्यले ‘नेशनल अनलाइन भिडियो डान्स च्यालेन्ज–२०२६’ हुने भएको छ । मोफसल त्यसमा पनि पूर्वी बाहुनडाँगीबाट पहिलो पटक अनलाइनमार्फत प्रतिभाको खोजी गर्न लागिएको हो ।
मिनी माउन्टेन पब्लिकेशन प्रालिको ब्यानरमा भिडियो डान्स प्रतियोगिता आयोजना गरिएको आज बौद्धमोडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
लुकेर रहेकाले प्रतिभालाई उजागर गर्नका लागि पूर्वबाटै नौलो कार्यक्रम सुरुवात गरिएको प्रालिका अध्यक्ष सचिन निरौलाले जानकारी दिए । ‘अहिलेको प्रविधिलाई प्रयोग गर्दै नयाँ प्रतिभाको खोजीको प्रयास गरेका छौं,’ उनले भने, ‘देशैभरका प्रतिभालाई अवसर खुला गरिएको छ ।’
नेशनल अनलाइन भिडियो डान्स प्रतियोगितामा भाग लिन नेपाली नागरिक हुनु पर्ने सर्त राखिएको छ । सहभागीले ३० देखि १८० सेकेण्डको भिडियो क्राउड च्यानल एपमा अपलोड गर्नुपर्नेछ । उक्त एप प्रालिले सञ्चालन गर्दै आएको छ ।
आयोजकले प्रतियोगिता सुरु गर्ने मिति समेत सार्वजनिक गरेको छ । प्रतियोगिता यही फागुन ३ देखि चैत १६ गतेसम्म सञ्चालन गर्ने जनाएको छ । फागुन ३ देखि चैत १ गतेसम्मका लागि भिडियो बुझाउने समय अवधि तोकिएको छ भने भोटिङ सुरु भने चैत २ देखि चैत १६ गतेसम्मका लागि खुला गरिएको प्रालिका अध्यक्ष निरौलाले जानकारी दिए ।
नेशनल अनलाइन भिडियो डान्स प्रतियोगिताको नतिजा चैत १७ गते सार्वजनिक गरिने जनाइएको छ । सहभागी उत्कृष्ट तीन जना प्रतिभालाई पुरस्कारको व्यवस्था समेत गरिएको छ ।
प्रथम हुनेले नगद २१ हजार, दोस्रोले ९ हजार र तेस्रो हुनेले नगद ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । विजेता बन्नका लागि भोटिङलाई आधार मानिएको आयोजक समितिले जनाएको छ ।
पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेलको प्रमुख आतिथ्यता तथा केशरबहादुर बस्नेतले सञ्चालन गरेको कार्यक्रममा नृत्य प्रशिक्षक कुशल दाहाल, व्यवसायी माधव खतिवडा, अनिश काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु