मेचीनगर । नेपाली कांग्रेस झापा १ का प्रतिनिधि सभा उम्मेदवार केशवराज पाण्डेले बदलिएको कांग्रेसले नै देशमा सुशासन र समृद्धि दिने बताएका छन् । नेपाली कांग्रेले बिहीबार मेचीनगर ५ स्थित नकलबन्दामा आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हन् । ‘विगतमा देशमा आइपरेको हरेक समस्याकोे समाधान कांग्रेसले गर्याे, कांग्रेस अभिभावक पार्टी हो’, उनले भने,‘ माओवादी आन्दोलन होस् या मधेस आन्दोलन सबैखाले हिंसालाई कांग्रेसले शान्तिमा रुपान्तरण गर्याे, यतिखेर देश थप संकटमा छ, त्यसको समाधान कांग्रेस बिना सम्भव छैन ।’
कांग्रेस कै नेतृत्वमा देशले संविधान पाएको स्मरण गर्दै उनले देशको विकास सँगै हरेक नेपालीको मनमा सल्किएको आगो निभाउन र कुण्ठालाई समाप्त पार्न नयाँ विचार र नयाँ नयाँ उमंग लिएर कांग्रेस आइसकेकोले विचलित नभई रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।

पछिल्लो समय नयाँ प्रतिको आकर्षण बढेको बताउँदै उनले आफू विकास प्रेमी स्थानीय र नयाँ उम्मेदवार भएको दावी गरे । पाण्डेले सामाजिक तथा धार्मिक क्षेत्रमा समेत आफ्नो बलियो उपस्थित रहेको बताउँदै निर्वाचनमा अमूल्य मत दिएर विजयी गराउन आग्रह समेत गरे ।

सो अवसरमा समानुपातिक उम्मेदवार गोमा भट्टराईले कांग्रेसले आन्तरिक विद्रोह गरेर नेतृत्व परिवर्तन गरेसँगै कांग्रेस एक ढिक्का भएर अघि बढेको बताइन् । उनले बदलिएको कांग्रेस आजको अवश्क्ता भएको दावी गरिन् । कांग्रेसले जुझारु, इमान्दार युवा उम्मेदवार उठाएकोले केशवराज पाण्डेलाई भोट दिएर विजयी गराउन हरेक युवाहरु समेत जुट्नु पर्ने उनको जोड थियो ।
नेपाली कांग्रेस मेचीनगर– ५ का वडा सभापति नारायण खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति एवम् निर्वाचन परिचालन समिति संयोजक इन्द्रबहादुर बुढाथोकी, अग्रज नेता रामकट्टे, मेचीनगरपालिकाका निवर्तमान मेयर बिमल आचार्य, नेपाली कांग्रेस प्रदेश क सभापति हरि बुढाथोकी तथा पार्टीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव मणी आचार्यले गरेका थिए ।

कोण सभापछि उम्मेदवार तथा तथा पार्टी प्रतिनिधिहरु मतदाताहरुको घर दैलोमा पुगेर आफू र आफ्नो पार्टीलाई मत दिएर विजयी गराउन आग्रह गरेका थिए ।
नेपाली कांग्रेसले बिहीबार नै बुद्धशान्ति ४ , ६ र मेचीनगर ७ का बिभिन्न ठाउँमा पुगेर मतदातासँग भेटघाट गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्