धुलाबारी । मेचीनगर–९ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती समारोहको अवसर पारेर केन्द्र परिसरमा नवनिर्मित चारधाम, तपस्याधाम, द्वादश ज्योतिर्लिंगको समुद्घाटन गर्ने भएको छ । नवनिर्मित तपस्याधाम परिसरमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
राजस्थानको माउण्ट आबुकी विश्व विख्यात मोटिभेसनल स्पीकर एवं वरिष्ठ राजयोग प्रशिक्षिका राजयोगिनी उषा दिदी र ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी डा। राज दादीमाको पावन सानिध्यमा उक्त समारोह हुन लागेको हो ।

रजत जयन्तीको पूर्वसन्ध्यामा केन्द्रले यसअघि रक्तदान र निःशुल्क आँखा शिविर सन्चालन गरेको छ । त्यस्तै, बुद्धशान्ति राजयोग पाठशाला आनन्द भवनको उद्घाटन, शान्ति पद यात्रा, रजत जयन्ती र तपस्याधाम, सन्त समाज र समाजसेवीहरुको सम्मान तथा स्नेह मिलन कार्यक्रम हुनेछन् ।
त्यस्तै, ब्रह्मकुमारी उषा दिदीबाट गीताका सार जीवनको आधारबारे प्रवचन, त्रिदिवशीय राजयोग मेडिटेशन शिविर, विभिन्न संघ संस्थाहरुको सम्मान तथा स्नेह मिलन, जीना इसीका नाम है, नारी शक्तिहरुको सम्मान लगायतका कार्यक्रम हुनेछन् । ब्रह्माकुमारीज क्षेत्रीय संयोजक गीता दिदीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सन्चालन तुलसी भाईले गरे भने स्वागत केन्द्रकी अनिशा दिदीले गरेकी थिइन् ।
कांगे्रस नेता विश्वप्रकाश शर्मा र राज्यप्रकाश शर्माले आमा सावित्रा शर्माको स्मृतिमा निःशुल्क दिएको ५ कठ्ठा जग्गामा केन्द्रको भवन निर्माण गरिएको छ । पूर्वकै धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य लिइएको ५ कठ्ठा क्षेत्रफलमा फैलिएको विशाल भवन निर्माण गरिएको छ ।

प्रतिकृया दिनुहोस्