मेचीनगर, ९ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावबाट बदलिएको कांग्रेसलाई मुलुकको ‘पहिलो दल’ बनाउन मतदातालाई आग्रह गरेका छन् ।
झापा निर्वाचन क्षेत्र नं. १ को बुद्धशान्ति–४ मा आज आयोजित चुनावी कोणसभामा बोल्दै उनले आफू बदलिएर देश बदल्ने संकल्प गरेको नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो दल बनाउनु पर्नेमा जोड दिए ।
“अहिले देशमा विषम परिस्थिति छ,” उनले भने “चुनावमा हार्ने र जित्ने सामान्य कुरा हो । तर विषम परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ, त्यो मुख्य कुरा हो । तसर्थ, मुलुकलाई सही नेतृत्व गरेर निकास निकाल्ने क्षमता भएको नेपाली कांग्रेसलाई जनताले जिताएर पहिलो पार्टी बनाउँछन् ।”

उनले आवेगमा आएर लहैलहै र झोक्किएर मतदान नगर्न आह्वान गर्दै बदलिएको नेपाली कांग्रेसलाई ढुक्क भएर मतदान गर्न जेनजी भाइबहिनीहरुलाई आह्वान समेत गरे ।
“जेनजी तपाई हाम्रै छोराछोरी हुन्,” उपसभापति शर्माले भने– “उनीहरुले चाहेको मुख्य कुरा परिवर्तन हो । सरकार, दल, शासन, विकास र अर्थतन्त्रमा परिवर्तन खोजेका हुन् । यो परिवर्तनको सुरुवात नेपाली कांग्रेसले आफैबाट गरिसकेको छ ।” कार्यक्रममा नेपाली कांग्रेसले झापा–१ को चुनावी घोषणा पत्र सार्वजनिक गरेको थियो । पार्टीका उपसभापति शर्मा, पार्टीका कोशी प्रदेश सभापति एवम् पूर्व मुख्यमन्त्री उद्धव थापा, प्रत्यक्षतर्फका उम्मेद्वार केशवराज पाण्डे लगायतले घोषणा पत्र सार्वजनिक गरेका थिए ।
सो कोणसभामा उम्मेद्वार पाण्डेले क्षेत्रको विकास निर्माण र समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको जनाउँदै अमूल्य मतदान गरी बिजयी बनाउन मतदातासमक्ष अपिल गरेका थिए ।

प्रतिकृया दिनुहोस्