मेचीनगर–२ मा कृत्रिम हात–खुट्टा तथा सहायक सामग्री वितरण केन्द्र भवन उद्घाटन

2026-03-18 मा प्रकाशित

मेचीनगर । मेचीनगर–२ स्थित कृत्रिम हात–खुट्टा तथा अपाङ्गता सहायक सामग्री वितरण एवं तालिम केन्द्र भवनको बुधबार भव्य कार्यक्रमबीच उद्घाटन गरिएको छ।

करिब ३० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवनको उद्घाटन कार्गिल सहिद परिवारका सदस्य तथा समाजसेवी नेत्रराज थापाले गरेका हुन्।

उद्घाटनपछिको कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले भित्री भावना र समर्पणका साथ गरिएको कार्य सधैं सफल हुने विश्वास व्यक्त गरे।

कार्यक्रमका विशेष अतिथि सद्गुरु मानवसेवा फाउन्डेशनका अध्यक्ष मुकुन्द नेपालले सामाजिक रूपान्तरणमा फाउन्डेशनले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा खुसी ल्याउने अभियानमा संस्था निरन्तर अग्रसर रहने प्रतिबद्धता जनाए।

उनका अनुसार आगामी दिनमा यसै केन्द्रबाट पूजा सामग्री उत्पादन गरी त्यसको व्यावसायिक बजारीकरण गर्ने योजना रहेको छ। “अपाङ्गता भएका व्यक्तिहरूद्वारा पूजा सामग्री तथा अगरबत्ती उत्पादन गर्ने अभियान छिट्टै सुरु गर्नेछौं,” उनले भने, “यसले उनीहरूलाई रोजगारी सिर्जना गर्नुका साथै केन्द्रका लागि आम्दानीको स्रोतसमेत बन्नेछ।”

नेपाल राष्ट्रिय अपाङ्ग पुनःस्थापना समिति मेचीनगरका अध्यक्ष रचिन निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

अध्यक्ष निरौलाले देशभरका अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताअनुसार कृत्रिम हात–खुट्टा तथा सहायक सामग्री उपलब्ध गराउने दीर्घकालीन योजना रहेको बताए।

भावुक हुँदै उनले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै भने, “बाल्यकालमै अपाङ्ग भएपछि बुवाले मलाई काँधमा बोकेर बनेपासम्म कृत्रिम खुट्टाका लागि लैजानु भएको थियो। त्यही अनुभवले मलाई प्रेरणा दियो, र एक दिन देशभरका मानिसलाई यही बौद्धमोडबाट सेवा दिने संकल्प गरेको थिएँ।”

उनले हाल उक्त लक्ष्य पूरा भएको उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण भइरहेको बताए । सो अवसरमा कार्यक्रमका विशेष अतिथि जर्मनी नागरिक बाबा एडमले वैदिक मन्त्रोचारणका साथ हवन गरेका थिए ।

कार्यक्रमको अवसरमा समितिले जग्गादाता तथा सहयोगदाताहरूलाई सम्मान गरेको थियो। स्वर्गीय लयप्रसाद रिजाल र भगिरथा रिजाललाई मरणोपरान्त सम्मान गरिएको थियो, जसको सम्मान उनका छोराले ग्रहण गरे  ।

त्यसैगरी रामबहादुर घिमिरे, ज्ञानबहादुर तामाङ, रोशन अग्रवाल (इजराइली समाज झापा), सद्गुरु मानवसेवा फाउन्डेशनका अध्यक्ष मुकुन्द नेपाल तथा प्रमुख अतिथि नेत्रराज थापालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजसेवी सनदकुमार अधिकारी, नीलकण्ठ तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन समितिका सचिव युवराज बस्नेतले गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु