मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि आजबाट तीन दिवसीय स्वास्थ्य शिविर सुरु

2026-03-23 मा प्रकाशित

बाहुनडाँगी । अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर मेचीनगरमा आजबाट तीन दिवसीय स्वास्थ्य शिविर सञ्चालन सुरु गरिएको छ ।
मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा बाहुण्डाँगी स्वास्थ्य चौकीमा आज पहिलो दिन शिविर सञ्चालन भयो । शिविरमा आज पहिलो दिन ३० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा मेचीनगर नगरपालिका वडा नं. १, २, ३, ४ र ५ का अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा अर्थोपेडिक, न्युरो, पेडियाट्रिक, फिजियोथेरापी तथा नाक, कान, घाँटी सम्बन्धी विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए । जसअनुसार अर्थोपेडिकतर्फ १५ जना, पेडियाट्रिकतर्फ २ जना, फिजियोथेरापीतर्फ ७ जना र नाक, कान, घाँटीतर्फ ६ जनाले सेवा लिएको कार्यक्रमका सहजकर्ता कुशल पोखरेलले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न मेचीनगर नगरपालिका वडा नं. ४ को वडा कार्यालय, पूर्व क्षितिज अपाङ्ग सेवा संघ मेचीनगर, स्वास्थ्य शाखा मेचीनगर, बाहुण्डाँगी स्वास्थ्य चौकी तथा अपाङ्गता सशक्तिकरण बहुउद्देश्यीय सहकारी संस्था लगायतका संस्थाहरुले सहयोगी भूमिका निर्वाह गरेका थिए ।
तीन दिवसीय स्वास्थ्य शिविर अन्तर्गत चैत १० गते वडा नं. ११, १२, १३ र १४ का लागि धाईजन स्वास्थ्य चौकीमा तथा चैत ११ गते वडा नं. ६, ७, ८, ९, १० र १५ का लागि मेचीनगर आधारभूत स्वास्थ्य चौकी धुलाबारीमा शिविर सञ्चालन हुने करुणा फाउन्डेसनका प्रतिनिधि पदम बराइलीले जानकारी दिए ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, मेचीनगर नगरपालिका र करुणा फाउन्डेसनको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” अन्तर्गत उक्त शिविर आयोजना गरिएको हो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु