नेपाल पत्रकार महासंघ झापा शाखाको साधारण सभा सम्पन्न

2026-05-04 मा प्रकाशित

मेचीनगर २१ वैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाको साधारण सभा सोमबार बिर्तामोडस्थित होटल किङ्सबेरीमा सम्पन्न भएको छ । सभाको उद्घाटन महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले जनतालाई सूचनाको हकबाट वञ्चित गराउने प्रयास निरंकुशताको सुरुआत भएको बताएका छन् । उनले सरकारको विज्ञापन नीतिलाई विभेदकारी भएको आरोप लगाउँदै सरकारी सञ्चारमाध्यमलाई मात्र विज्ञापन दिने निर्णय आर्थिक नाकाबन्दीसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने कदम भएको उल्लेख गरे ।
उनका अनुसार प्रेस स्वतन्त्रता खुम्चिँदा नागरिकको सूचना पाउने अधिकारसमेत प्रभावित हुने भएकाले यस्तो कदम महासंघले कदापि स्वीकार नगर्ने स्पष्ट पारे ।
आचार्यले सरकारी सूचना तथा विज्ञापनमा गरिएको विभेदकारी नीति तत्काल फिर्ता लिन सरकारसँग मागसमेत गरेका छन् ।
कार्यक्रममा अग्रज पत्रकार चन्द्र भण्डारी, कृष्ण हुमागाई, महासंघ कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्का, मोरङ अध्यक्ष सुशीला पाठक, प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार तथा प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्कालगायतले धारणा राख्दै प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भए देशभरका पत्रकार आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
उनीहरूले राम्रो कामको प्रशंसा र गलत कार्यको भण्डाफोर गर्ने पत्रकारिताको मूल दायित्वबाट पछि नहट्ने बताएका छन् ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


उक्त अवसरमा भद्रपुर प्रेस क्लब, १२१ पटकसम्म रक्तदान गर्ने हल्दिबारी प्रेस क्लबका अध्यक्ष नेत्रविक्रम बिमली, सञ्चारकर्मी रञ्जित परियार तथा लैङ्गिक पत्रकारितामा सक्रिय गृष्मा सापकोटालाई सम्मान गरिएको थियो ।
साथै, महासंघद्वारा प्रकाशित ‘चौथो अङ्ग’ म्यागजिनको विमोचनसमेत गरिएको थियो ।


कार्यक्रममा महासंघ झापाका अध्यक्ष एकराज गिरीले ‘सहारा पत्रकार उपचार कोष’लाई २ करोड रुपैयाँसम्म पुर्‍याउने लक्ष्य रहेको जानकारी दिएका छन् । उनका अनुसार हाल कोषमा एक करोड २५ लाख रूपैया भन्दा बढी संकलन भइसकेको छ ।
महासंघ झापा अध्यक्ष एकराज गिरीले सभापतित्वमा आयोजित कार्यक्रममा ईष्ट होराइजन अंग्रेजी माविका विद्यार्थीहरुको रोचक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

उपाध्यक्ष सुव्रत न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु