इटाभट्टा, २२ वैशाख । मेचीनगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्चको सहजीकरणमा सामुदायिक विद्यालयस्तरमा लागुऔषध प्रयोग नियन्त्रण तथा यसको प्रभावसम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि सुरु भएको छ ।
मेचीनगर–८ स्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित औपचारिक उद्घाटन कार्यक्रममार्फत अभियानको शुभारम्भ गरिएको हो। कार्यक्रमको उद्घाटन नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
उद्घाटनपछि बोल्दै नगरप्रमुख बुढाथोकीले लागुऔषधले समाजलाई भयावह अवस्थामा पु¥याएको र धेरै व्यक्तिको जीवन तथा परिवारमा गम्भीर असर परेको बताए। उनले विद्यार्थी लक्षित सचेतना अभियानमार्फत यसको रोकथाममा प्रयास थालिएको उल्लेख गरे ।
उनका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनपछि यस विषयलाई प्राथमिकतामा राखिए पनि स्थानीय तह सञ्चालन ऐन, २०७४ ले सचेतना र अभिमुखीकरणबाहेक अन्य कडा कदम चाल्न अधिकार नदिएको गुनासो गरे ।
नगरपालिकाले नगरभित्रका १७ वटा सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी लागुऔषधको असर, रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । यो अभियान आगामी जेठ १८ गतेसम्म चल्नेछ ।
कार्यक्रमअन्तर्गत विद्यार्थीलाई वातावरणप्रति सचेत बनाउन विद्यालयहरूमा इको क्लबसमेत गठन गरिने जनाइएको छ ।
सामाजिक विकास समिति संयोजक हृदय राजबंशीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नं. ८ का अध्यक्ष गिरिराज धमला, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, सामाजिक विकास शाखा प्रमुख सरला लुईटेललगायतले लागुऔषध नियन्त्रणमा सबैको भूमिका आवश्यक रहेको बताए ।
त्यसैगरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवं डीएसपी निशेष चापागाईंले मेचीनगर क्षेत्रमा लागुऔषधको अवस्था, प्रयोग, कारोबार, लक्षण, प्रभाव तथा नियन्त्रणका उपायबारे जानकारी गराएका थिए ।
कार्यक्रम सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकालको सहजीकरणमा सञ्चालन भएको थियो भने सहजकर्ताका रूपमा गोविन्द न्यौपाने, रिचमण्ड फेलोसिप मोरङका कर्मचारी रोशन दाहाललगायत सहभागी रहेका छन् ।

प्रतिकृया दिनुहोस्