धुलाबारी । धुलाबारी । स्वास्थ्य सुरक्षा, प्राथमिक उपचार विधि तथा आकस्मिक अवस्थाबारे एकदिवसीय जनचेतनामूलक प्रशिक्षण आइतबार मेचीनगरस्थित धुलाबारी माविमा सम्पन्न भएको छ ।
एन्जल फाउन्डेसन उर्लाबारीको प्राविधिक सहयोग तथा धुलाबारी माविको समन्वयमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक, शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो ।
स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा अचानक रक्तसञ्चार रोकिँदा बिरामीलाई दिइने मुटुसम्बन्धी प्राथमिक उपचार, सर्पदंशपछिको प्राथमिक उपचार, आगोले डढेका व्यक्तिलाई गर्नुपर्ने र नगर्नुपर्ने उपचार पद्धति, करेन्ट लाग्दा अपनाउनुपर्ने सावधानी तथा पानीमा डुबेका व्यक्तिलाई गरिने प्राथमिक उपचारबारे एन्जल फाउन्डेसनका बिना लिम्बू, सुरुचि निरौला र मनिषा भण्डारीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा सहभागीहरूले घर तथा समुदायमा गर्दै आएका प्राथमिक स्वास्थ्योपचारका अभ्यासबारे प्रशिक्षकहरूसँग अन्तरक्रिया गरेका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ पराजुली, सदस्य चेतन निरौला, समाजसेवी, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले गाउँस्तरमै स्वास्थ्य सचेतना विस्तार गर्न सके धेरै जटिल स्वास्थ्य समस्या न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरेका थिए । जनचेतनामूलक कार्यक्रमले स्वास्थ्य सेवाप्रतिको पहुँच बढाउनुका साथै समुदायलाई विपद् तथा आकस्मिक अवस्थासँग जुध्न सक्षम बनाउने विश्वास व्यक्त गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष ऐश्वर्य मैनाली कडरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलाबारी माविका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन रमेशकुमार दाहालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्