झापामा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु

2026-06-02 मा प्रकाशित

झापा ।  झापामा बढ्दो अत्यधिक गर्मीका कारण एक महिलाको अकालमा मृत्यु भएको छ। झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ पशुपति चोक पूर्व निवासी लुखी हेमरमको अत्यधिक गर्मी सहन नसक्दा ज्यान गएको हो। उनी आज मध्याह्नको समयमा कमल राईको चिया बगानबाट पशुपति चोक जोड्ने सडक खण्डमा मृत अवस्थामा फेला परेकी थिइन्। हेमरम चर्को घाम र अत्यधिक गर्मीका कारण हिँड्दाहिँड्दै बाटोमै ढलेको प्रारम्भिक अनुमान गरिएको छ।
​स्थानीयबासीले बाटोमा महिला लडिरहेको देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हल्दीबारीबाट खटिएको टोलीले घटनास्थलमा पुगेर शव तथा वरपरको क्षेत्रलाई सुरक्षित राखेको छ। घटनाको विस्तृत विवरण बुझ्न र थप कानुनी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट विशेष टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको प्रहरी निरीक्षक सुमन बानियाले जानकारी दिएका छन्। पछिल्लो समय झापा सहित तराईका जिल्लाहरूमा गर्मी निकै बढेकाले सर्वसाधारणलाई सचेत रहन समेत आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु