धुलाबारी । भारतीय पक्षले नेपाली चिया निर्यातमा विभिन्न प्रक्रियागत अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन् । गुणस्तर परीक्षणको नाममा भारतले डेढ महिनादेखि नेपाली चिया निकासीमा अड्चन पु¥याएको भन्दै उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय गरेका हुन् ।
निर्यात अवरुद्ध हुँदा उत्पादित चियाले बजार नपाएको र ठूलो परिमाणमा चिया गोदाम तथा उद्योगमै थन्किएर बिग्रिने अवस्थामा पुगेपछि बाध्य भएर उद्योग बन्द गर्नुपरेको व्यवसायीहरूको भनाइ छ ।
चिया निर्यातमा बन्द भएपछि व्यवसायीहरुको छाता संस्था मेची उद्योग वाणिज्य संघले तत्काल कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न नेपाल सरकारसँग माग गरेको छ ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको प्रमुख निर्यातजन्य कृषि उपज चियाको मुख्य बजार भारत रहेको उल्लेख गरेको छ । विज्ञप्तिअनुसार विगतदेखि नै भारतीय पक्षले विभिन्न अवरोध सिर्जना गर्दै आएकोमा हाल भारतीय चिया बोर्ड (त्भब द्ययबचम क्ष्लमष्ब) ले नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (क्इए) लागू गरेपछि नेपाली चिया निर्यात थप प्रभावित बनेको जनाएको छ ।
संघका अनुसार नयाँ व्यवस्थाअन्तर्गत विभिन्न प्रकारका गुणस्तर परीक्षण, जोखिमपूर्ण तथा अपारदर्शी प्रक्रियाका कारण नेपाली चियाको भारत निकासीमा जटिलता बढेको छ । यसले चिया उद्योग, किसान तथा मजदुरहरू प्रत्यक्ष रूपमा प्रभावित भएको संघको भनाइ छ ।
चिया निर्यातमा देखिएको पछिल्लो अवरोधले पूर्वी नेपालका चिया उत्पादक क्षेत्रहरूमा चिन्ता बढाएको छ भने सरोकारवाला निकायहरूले समेत यसको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रतिकृया दिनुहोस्