मेचीनगर । महाभारतकालीन इतिहाससँग जोडिएको पूर्वकै ऐतिहासिक धार्मिक स्थल घैलाडुब्बा शिव तथा देवी मन्दिरमा १०८ शिवलिङ्ग स्थापना गरी वैदिक विधिअनुसार प्राणप्रतिष्ठा गरिएको छ।
मेचीनगर–५ र ८ को सिमानामा रहेको उक्त मन्दिरमा पाँच दिवसीय धार्मिक अनुष्ठान सम्पन्न गर्दै शिवलिङ्गहरूको प्राणप्रतिष्ठा गरिएको हो। दाताहरूको सहयोगमा स्थापित १०८ शिवलिङ्गको शनिबार आयोजित विशेष समारोहबीच धर्मगुरु स्वामी डा. केशवानन्द गिरीले अनावरण गरेका थिए।
समितिका अध्यक्ष गणेश खरेलका अनुसार असार ३ गतेदेखि सुरु भएको धार्मिक अनुष्ठान वैदिक विधिअनुसार सम्पन्न गरिएको हो। औपचारिक समापनअघि पातालगंगाबाट १०८ कलशमा जल ल्याई १०८ शिवलिङ्गमा अभिषेक गरिएको थियो। कलश यात्रामा सयौं भक्तजनको सहभागिता रहेको थियो। शुक्रबार साँझ सवा ११ लाख लक्षवर्ती दीप प्रज्वलन, गंगा आरती तथा सत्संग–भजन कार्यक्रमसमेत आयोजना गरिएको थियो।
यस धार्मिक क्षेत्रअन्तर्गत घैलाडुब्बा र पातालगंगा गरी दुई फरक धार्मिक स्थल रहेका छन्। घैलाडुब्बा मन्दिर क्षेत्र मेचीनगर–५ मा तथा पातालगंगा क्षेत्र मेचीनगर–८ मा पर्दछ।
स्थानीय जनविश्वासअनुसार महाभारतकालमा पाँच पाण्डव यस क्षेत्रमा आइपुग्दा तिर्खा लागेपछि बाण प्रहार गरी पानी निकालेका थिए। त्यसयता निरन्तर जलधारा बगिरहेकाले उक्त स्थान पातालगंगाका रूपमा परिचित भएको मानिन्छ। शिवालय मन्दिरबाट करिब २०० मिटर दक्षिणमा रहेको पातालगंगामा धरतीबाट वर्षभरि एकनासले जलधारा बगिरहन्छ।
मन्दिर परिसरमा भगवान भोलेनाथ, हनुमान, राधा–सर्वेश्वर, भगवती छिन्नमस्ता, दुर्गा तथा नागदेवताका मन्दिर रहेका छन्। यस ऐतिहासिक मन्दिरमा शताब्दी उमेर नाघेका पुजारी मणिराम दासले नियमित पूजाअर्चना गर्दै आएका छन्।
अध्यक्ष खरेलका अनुसार पुरातत्व विभागले वि.सं. २०७७ सालमा यस मन्दिरलाई संरक्षण सूचीमा समावेश गरेको थियो। पूर्ण रूपमा माटोबाट निर्मित मन्दिरको विशेषता यसको अद्वितीय निर्माण शैली हो। मन्दिरको मूल संरचनामा फलामका किला, काँटी, सिमेन्ट वा ढुंगाको प्रयोग गरिएको छैन।
धार्मिक महत्वसँगै पातालगंगा क्षेत्र पर्यटकीय दृष्टिले पनि आकर्षणको केन्द्र बन्दै आएको छ। पातालगंगाको छेउबाट नागबेलीझैँ बग्ने घैलाडुब्बा खोला, अग्ला–होचा थुम्कीयुक्त भू–दृश्य तथा हरियाली चिया बगानले पर्यटकलाई आकर्षित गर्दै आएका छन्। मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष चन्द्र कोइरालाका अनुसार हिउँद याम सुरु भएपछि पिकनिक तथा भ्रमणका लागि विभिन्न स्थानबाट आगन्तुकहरू आउने गरेका छन्।
मन्दिर समितिका अध्यक्ष गणेश खरेलको सभापतित्व तथा धर्मगुरु स्वामी डा. केशवानन्द गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, वडा नं. ८ का वडाध्यक्ष गिरीराज धमला, वडा नं. ५ का वडाध्यक्ष कनकबहादुर कार्की, कार्यपालिका सदस्य माया प्याकुरेल, मेचीनगरपालिकाको भौतिक पूर्वाधार विकास समितिका संयोजक चित्र धिमाललगायत विभिन्न क्षेत्रका धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा १०८ जना बटुकद्वारा रुद्राभिषेकसमेत गरिएको थियो। कार्यक्रमको सञ्चालन १०८ शिवलिङ्ग निर्माण समितिका संयोजक रामचन्द्र अधिकारीले गरेका थिए।

प्रतिकृया दिनुहोस्