डम्बर बराल
मेचीनगर । झापा–१ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले राष्ट्रिय आवास कम्पनीको नाममा रहेका तर हाल विभिन्न सार्वजनिक तथा सामाजिक संस्थाले भोगचलन गरिरहेका जग्गा सम्बन्धित संस्थाकै नाममा धनीपूर्जा उपलब्ध गराउने विषयमा गम्भीर अध्ययन र छलफल भइरहेको बताएकी छन् ।
काँकरभिट्टास्थित विश्वनाथ शिवालय मन्दिर समितिको संयोजनमा आयोजित छलफल कार्यक्रममा बोल्दै सांसद डाँगीले उक्त जानकारी दिएकी हुन् ।
राष्ट्रिय आवास कम्पनीको नाममा रहेका काँकरभिट्टा क्याम्पस, देवकोटा पार्क, विश्वनाथ शिवालय मन्दिर, स्वास्थ्य चौकी, काँकरभिट्टा खेलमैदान, श्रीजङ्घा बसपार्क, वडा कार्यालय, मिनीमार्केटलगायत सार्वजनिक प्रयोजनका जग्गा हालसम्म सम्बन्धित संस्थाको नाममा आउन नसकेको भन्दै विभिन्न संघसंस्थाका प्रतिनिधिले सांसद डाँगीको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा सांसद डाँगीले २०२० सालमा तराई क्षेत्रमा बसोबास विस्तार गर्ने उद्देश्यले तत्कालीन सरकारले पुनर्वास कम्पनी स्थापना गरेको र समयक्रमसँगै त्यसको नाम परिवर्तन हुँदै हाल राष्ट्रिय आवास कम्पनीका रूपमा सञ्चालन भइरहेको बताइन् ।
उनका अनुसार कम्पनीको प्रारम्भिक उद्देश्य वन फँडानी गरी नागरिकलाई बसोबासको व्यवस्था गर्नु थियो। समयसँगै यसको कार्यक्षेत्र परिवर्तन भएको छ। कम्पनीले केही स्थानमा जग्गा निःशुल्क वितरण गरेको छ भने केही स्थानमा बिक्रीसमेत गर्दै आएको उनले जानकारी दिइन् ।
सांसद डाँगीले मेचीनगरका सार्वजनिक तथा सामाजिक संस्थाले उपयोग गरिरहेका राष्ट्रिय आवास कम्पनीका जग्गाका विषयमा पूर्वाधार मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आवास कम्पनीमा अध्ययन तथा छलफल भइरहेको भए पनि अहिलेसम्म कुनै ठोस निष्कर्षमा पुग्न नसकिएको बताइन् ।
“यो प्रक्रिया केही लामो हुन सक्छ । हामी यस विषयमा अध्ययन गरिरहेका छौँ,“ उनले भनिन्, “राष्ट्रिय आवास कम्पनीलाई सरकारले पूर्ण रूपमा ग्रहण गरेपछि मात्र निःशुल्क धनीपूर्जा वितरण गर्ने आधार बन्न सक्छ । अन्यथा सहुलियत दरमा जग्गा हस्तान्तरण गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ ।“
उनले राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेका जग्गामा स्वामित्वको विषय टुंगो नलागेसम्म सरकारी बजेटबाट स्थायी संरचना निर्माण गर्न कानुनी जटिलता रहने पनि स्पष्ट पारिन् ।
कार्यक्रममा प्राज्ञ सदस्य सुभद्रा अर्याल, राजकुमार श्रेष्ठ, डिल्लीराम घिमिरे, विक्की मजुमदार तथा विश्वनाथ शिवालय मन्दिर समितिका अध्यक्ष लक्ष्मण बस्नेतलगायतले सम्बन्धित जग्गाको समस्या समाधानका लागि सांसद डाँगीको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी झापाका जिल्ला अध्यक्ष ओम भण्डारी, क्षेत्रीय संयोजक कमल गौतम, जिल्ला सहसचिव, प्रदेश सदस्य प्रेमराज घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
विश्वनाथ शिवालय मन्दिर समितिका अध्यक्ष लक्ष्मण बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सचिव गोपालप्रसाद शिवाकोटीले गरेका थिए ।


प्रतिकृया दिनुहोस्