‘बावरी’ उपन्यासमाथि काँकरभिट्टामा पाठक चर्चा

2026-08-02 मा प्रकाशित

काँकरभिट्टा । रिडर्स अभियान नेपालले आफ्नो रिडमीनार’ शृंखलाअन्तर्गत उपन्यासकार मिलन संग्रौलाको चर्चित उपन्यास ‘बावरी’ माथि शनिबार काँकरभिट्टामा पाठक चर्चा कार्यक्रम आयोजना गरेको छ।

भानु साहित्यिक प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा उपन्यासकार मिलन संग्रौलाले आफ्नो कृतिको सिर्जना प्रक्रिया, उपन्यासले उठाएका सामाजिक विषयवस्तु तथा साहित्यको भूमिकाबारे धारणा राखेका थिए।

कार्यक्रममा भीमप्रसाद दाहाल र सन्देश प्रसाईंले उपन्यासमाथि टिप्पणी गर्दै ‘बावरी’ ले समकालीन समाजका विविध आयामलाई गहिरो रूपमा चित्रण गरेको बताए।

रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्यले पुस्तक पढ्ने संस्कृतिको विकासबाट समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गर्दै युवापुस्तालाई नियमित अध्ययनतर्फ आकर्षित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

त्यस्तै मेचीनगर–५ का वडाध्यक्ष कनक कार्की, मेचीनगर लेडी जेसीजकी अध्यक्ष रिता श्रेष्ठ, प्राचार्य तीर्थ खरेल, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराम घिमिरे, पुष्कर ढकाल तथा साहित्यकार निरज कट्टेललगायत वक्ताले साहित्यले समाजको यथार्थ उजागर गर्दै चेतनाको विकास र सकारात्मक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा साहित्यप्रेमी, विद्यार्थी, शिक्षक, लेखक, पाठक, स्रष्टा तथा पत्रकारको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले उपन्यासका विविध पक्षमाथि खुला छलफल गर्नुका साथै लेखकसँग प्रत्यक्ष संवाद गर्ने अवसर पनि पाएका थिए।

रिडर्स अभियान नेपालले ‘पढौँ, सोचौँ, बदलौँ’ भन्ने मूल नारासहित नियमित रूपमा पुस्तक समीक्षा, पाठक चर्चा तथा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु