झापाका पाँचवटै क्षेत्रमा कांग्रेस इतर समूह गठन झापा–१ को संयोजकमा निरौला

2026-08-11 मा प्रकाशित

मेचीनगर, २६ साउन । आगामी साउन २९ गते काठमाडौंमा नेपाली कांग्रेसको इतर समूहको बृहत् भेला आयोजना हुने भएपछि झापामा पनि संगठन विस्तारले तीव्रता पाएको छ । इतर समूहले जिल्लाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय समन्वय टोली गठन गरेको हो ।

झापा–१ मा नेपाल विद्यार्थी संघ झापाका सभापति सञ्जय निरौलालाई संयोजकको जिम्मेवारी दिइएको छ । भेलाको तयारी तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउन निरौलालाई संयोजकको जिम्मेवारी दिइएको हो । सदस्यमा निर्मला भण्डारी चयन भएकी छन् ।

त्यस्तै, झापा–२ को संयोजकमा बिर्तामोड नगर सभापति भोजराज सिटौला चयन भएका छन् । सदस्यमा तरुण दलका पूर्वकेन्द्रीय सदस्य मदन बुढाथोकी र जिल्ला समिति सदस्य ओम बिमली रहेका छन् ।

झापा–३ को संयोजकमा कांग्रेसका पूर्वजिल्ला सचिव भगिरथ पोद्दार चयन भएका छन् । सदस्यमा कोशी प्रदेशसभा सदस्य भूमि राजवंशी र महासमिति सदस्य विजय रिजाललाई जिम्मेवारी दिइएको छ ।

झापा–४ को संयोजकमा सूर्यनारायण ताजपुरिया चयन भएका छन् । सदस्यमा विष्णुप्रसाद खरेल, दिपेन पाठक र राजेन्द्र उप्रेती रहेका छन् । झापा–५ को संयोजकमा खगेन्द्रप्रसाद अधिकारी तथा सदस्यमा राजकुमार न्यौपाने ‘राजु’ चयन भएका छन् ।

कांग्रेसभित्र संस्थापनइतर समूहले संगठनलाई निर्वाचन क्षेत्रदेखि स्थानीय तहसम्म विस्तार गर्ने अभियानलाई तीव्र बनाएको हो । काठमाडौंमा हुने बृहत् भेलालाई लक्षित गर्दै झापाका पाँचवटै निर्वाचन क्षेत्रमा समन्वय र संगठन परिचालनका लागि टोली गठन गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु