मेचीनगर । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले शिक्षा दिवसको अवसर पारेर शुक्रबार पुरस्कार वितरण, सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा अंग्रेजी विषयतर्फ उत्कृष्ट औसत जीपीएसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको भन्दै शिक्षक कुलमणि भण्डारीलाई सम्मान गरेको छ।
भण्डारीलाई सन्तलाल माझी अक्षयकोषमार्फत सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–५ का वडाध्यक्ष कनकबहादुर कार्की र अक्षयकोषदाता सन्तलाल माझीले संयुक्त रूपमा उनलार्ई रु १० हजार नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । विद्यालयका प्रावि इन्चार्जसमेत रहेका माझीले केही वर्षअघि रु. १ लाख बराबरको अक्षयकोष स्थापना गरेका थिए।

कार्यक्रममा विद्यालयले कक्षा १ देखि १० सम्म प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कृत गरेको थियो। कक्षागत सरसफाइ र अनुशासनमा उत्कृष्ट विद्यार्थीलाई समेत पुरस्कार प्रदान गरिएको थियो।
विद्यालयमा स्थापित राधाबल्लभ पराजुली स्मृति अक्षयकोष, श्रेयान्सी एन्ड समिर अक्षयकोष, विष्णुमाया देवकोटा स्मृति अक्षयकोष, सन्तलाल माझी अक्षयकोष, एनएमसी सहकारी बालकल्याण मावि जेहेन्दार विद्यार्थी अक्षयकोष तथा विद्यालयको आन्तरिक स्रोतबाट पुरस्कार वितरण गरिएको प्रधानाध्यापक नारायणप्रसाद न्यौपानेले जानकारी दिए।

कार्यक्रमकै अवसरमा शैक्षिक सत्र २०८२ मा एसईई परीक्षा दिएर प्लस टु अध्ययनका लागि अन्य विद्यालय तथा शैक्षिक संस्थामा गएका विद्यार्थीलाई विदाइसमेत गरिएको थियो।

अँधेरी सामुदायिक भवनमा आयोजित कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीना कुमारी चेम्जोङको अध्यक्षतामा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कार्कीले पछिल्लो समय विद्यालयले शैक्षिक गुणस्तर वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै विद्यालय परिवारको प्रशंसा गरे।

विद्यालयको गुणस्तर वृद्धिका लागि हौसला, सम्मान र पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कार्कीले विभिन्न अक्षयकोष स्थापना गरी शिक्षक तथा विद्यार्थीलाई सम्मान र पुरस्कृत गर्ने कार्यले आगामी दिनमा थप हौसला प्रदान गर्ने बताए। आफू शिक्षक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुँदै जनप्रतिनिधिको भूमिकामा रहँदासमेत विद्यालयको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गरिरहेको उनले बताए।
कार्यक्रममा समाजसेवी डम्बर पुरीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक, शिक्षक–अभिभावक संघ तथा विद्यालय व्यवस्थापन समितिको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले विद्यालयलाई आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा विद्यालयका विद्यालयका संस्थापक सदस्य शेरबहादुर राई, शिक्षक–अभिभावक संघका अध्यक्ष सुभाष लिम्बू, पूर्व शिक्षक–अभिभावक संघका अध्यक्ष तथा अक्षयकोषदाता कमलकुमार देवकोटा, पूर्व विब्यस अध्यक्ष अनन्त कुमार दाहाल, समाजसेवी केशरबहादुर अधिकारीलगायतको आतिथ्यता रहेको थियो।

प्रधानाध्यापक नारायणप्रसाद न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक कुलमणि भण्डारीले गरेका थिए।

प्रतिकृया दिनुहोस्