मेचीनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले सरकारले छापा माध्यमको घाँटी निमोठ्ने प्रयास गरिरहेको आरोप लगाएकी छन्।
शनिबार मेचीनगर–१०, धुलाबारीस्थित नाङ्लो रेस्टुरेन्टमा प्रेस क्लब मेचीनगरको १२औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारले सञ्चारमाध्यमलाई साथ र संरक्षण दिनुपर्नेमा छापा माध्यमलाई कमजोर बनाउने दिशामा अघि बढेको आरोप लगाइन्।
प्रमुख अतिथि भण्डारीले वर्तमान सरकार मिडियामैत्री हुन नसकेको बताउँदै विज्ञापन बोर्डमार्फत उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम घटाएर छापा माध्यमलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरिन्। यस्तो अवस्थामा त्यसका विरुद्ध पत्रकारहरू आन्दोलित हुनुपर्ने अवस्था आएको उनको भनाइ थियो। सरकारले जनताको आवाज उठाउने सञ्चारमाध्यमलाई संरक्षण गर्नुपर्नेमा सञ्चार क्षेत्रलाई नै कमजोर बनाउने काम गरिरहेको आरोप लगाउँदै उनले प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको हितका लागि पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेलले पछिल्लो समय पत्रकारको काम, कर्तव्य र आचरणमाथि समेत प्रश्न उठ्न थालेको बताए। पत्रकारिता पेसाप्रति सबै पत्रकार इमानदार, जिम्मेवार र जवाफदेही हुनुपर्ने उनको भनाइ थियो।
साधारणसभासँगै ‘सीमा क्षेत्रको लैङ्गिक संवेदनशीलता, मानव बेचबिखन तथा झापा : सम्पर्क र सम्भावनाको सेतु’ विषयक विशेष अभिमुखीकरण तथा अन्तरसंवाद कार्यक्रमसमेत आयोजना गरिएको थियो।
कार्यक्रममा वरिष्ठ पत्रकार सुधीर शर्मा मुख्य वक्ताका रूपमा सहभागी थिए। उनले सीमा क्षेत्रसँग जोडिएका लैङ्गिक संवेदनशीलता, मानव बेचबिखन तथा सामाजिक सरोकारका विषयमा सञ्चारमाध्यमको भूमिका, चुनौती र सम्भावनाबारे धारणा राखेका थिए। अन्तरसंवाद कार्यक्रममा मेचीनगर तथा आसपासका क्षेत्रका पत्रकारहरूको सहभागिता थियो। सीमा क्षेत्रमा हुने गतिविधिको निगरानी, मानव बेचबिखन नियन्त्रण, लैङ्गिक संवेदनशीलता तथा स्थानीय मुद्दाको प्रभावकारी सञ्चारका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ र ‘पुरुष सञ्चालन मेचीनगर’का संयोजक तथा अग्रज पत्रकार मोहन काजीले धारणा राखेका थिए।
प्रेस क्लब मेचीनगरले वार्षिक साधारणसभालाई संस्थागत गतिविधिको समीक्षा र आगामी कार्ययोजना निर्माणसँगै पत्रकारहरूको क्षमता अभिवृद्धि तथा सीमा क्षेत्रका महत्वपूर्ण सवालमा छलफल गर्ने अवसरका रूपमा अघि बढाएको क्लबका अध्यक्ष प्रकाश पौडेलले बताए।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेती तथा निवर्तमान अध्यक्ष डम्बर बराललगायतको आतिथ्य रहेको थियो। साधारणसभामा अध्यक्ष पौडेलले अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष मनिषा गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। क्लबका उपाध्यक्ष खगेन्द्र घिमिरेले स्वागत गरेको कार्यक्रम सचिव प्रविण अधिकारीले सञ्चालन गरेका थिए।

प्रतिकृया दिनुहोस्