नेशनल प्याब्सन मेचीनगरको आयोजनामा छैटौं अन्तर–विद्यालय कविता प्रतियोगिता सम्पन्न

2026-09-20 मा प्रकाशित

मेचीनगर । ११औँ संविधान दिवसको अवसरमा नेशनल प्याब्सन मेचीनगरको आयोजनामा छैटौं मेचीनगर नगरस्तरीय अन्तर–विद्यालय कविता प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
काँकरभिट्टा स्थित शान्तिपथ इङ्गलिस स्कुलको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा मेचीनगर नगरक्षेत्रभित्रका नेशनल प्याब्सनमा आबद्ध विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो ।
विद्यार्थीहरूमा साहित्यिक सिर्जनशीलता, लेखन तथा वाचन क्षमता, आत्मविश्वास र बौद्धिक विकास अभिवृद्धि गर्ने तथा नेपालको संविधानबारे विद्यार्थीहरूलाई जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठले जनाकारी दिए । प्रतियोगिता नेपाली भाषामा जुनियर र सिनियर गरी दुई विधामा सञ्चालन गरिएको थियो ।


उद्घाटन सत्र
कार्यक्रमको अध्यक्षता नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठले गरेका थिए भने सञ्चालन सचिव जीवन कट्टेलले गरेका थिए ।
सो अवसरमा सो विद्यालयका विद्यार्थीहरूले आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ललित तामाङले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास, आत्मविश्वास तथा साहित्यिक क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने बताए उनले मेचीनगरमा असोज ६ गतेदेखि सञ्चालन हुन लागेको जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियानबारे समेत जानकारी गराएका थिए ।

प्रमुख अतिथि मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले यस किसिमका कार्यक्रमकले विद्यार्थीहरूको लेखन कला, बौद्धिक क्षमता तथा आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति दृढ संकल्पका साथ निरन्तर अघि बढ्न आग्रह समेत गरे । कार्यक्रममा स्वागत शान्तिपथ इङ्गलिस बोर्डिङ स्कुलका संस्थापक तथा नेशनल प्याब्सन मेचीनगरका सदस्य कञ्चन गौतमले गरेका थिए ।

प्रतियोगितामा सिनियरतर्फ प्रथमः आदर्श विद्या मन्दिरकी दिप्सिका मगर, द्वितीयः अरुणोदय इङ्गलिस बोर्डिङ स्कुलकी लसा थापा, तृतीयः सूर्योदय इङ्गलिस बोर्डिङ स्कुल — प्रतीक अधिकारी
त्यसैगरी जुनियरतर्फ प्रथमः दन्तकाली इङ्गलिस बोर्डिङ स्कुल — हिमानी पौडेल, द्वितीयः शान्तिपथ इङ्गलिस बोर्डिङ स्कुल — आराध्य चापागाईं, तृतीयः सूर्योदय इङ्गलिस बोर्डिङ स्कुल — मृगङ्का मैनाली घोषित भए ।
समापन सत्र
समापन सत्रमा नेशनल प्याब्सन मेचीनगरका कोषाध्यक्ष दिपेन्द्र प्रधानले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा शान्तिपथ इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल अमृत प्रधानले कविता वाचन गरेकी थिइन्
प्रतियोगिताको निर्णायकमा सुशिला खवास र शिला खवास रहेका थिए ।
समापन मन्तव्यमा व्यक्त गर्दै कार्यक्रमका सभापति तथा नेशनल प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठले विद्यार्थीहरूले सिर्जना गरेका उत्कृष्ट कविताहरूलाई समेटेर भविष्यमा सामूहिक कविता संग्रह प्रकाशन गर्न सकिने र त्यसका लागि सबै विद्यालय, शिक्षक, विद्यार्थी तथा सम्बन्धित पक्षको साथ र सहकार्य आवश्यक रहेको बताएका थिए । उनले कार्यक्रम सफल पार्न भूमिका निर्वाह गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन समेत गरेका थिए । प्रतियोगिताले विद्यार्थीहरूमा कविता लेखन तथा वाचनप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै संविधान, राष्ट्र र समाजप्रतिको सकारात्मक सोच विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु