मेचीनगर । पशुमा लाग्ने विभिन्न रोगको रोकथाम, उपचार तथा औषधिको सुरक्षित प्रयोगबारे मेचीनगर–४ का पशुपालक किसानलाई जानकारी दिइएको छ।
मेचीनगर नगरपालिका–४ को आयोजनामा भएको एकदिने पशु स्वास्थ्यसम्बन्धी परामर्श कार्यक्रममा गाईवस्तुमा लाग्ने खोरेत रोग (एफएमडी), लामखुट्टेको टोकाइबाट सर्न सक्ने जापानिज इन्सेफ्लाइटिस (जेई) तथा पशुपक्षीमा प्रयोग हुने एन्टिबायोटिकप्रतिको प्रतिरोध क्षमता (एन्टिमाइक्रोबियल रेजिस्टेन्स) बारे जानकारी दिइएको हो।
कार्यक्रममा पशुमा देखिने रोगका प्रारम्भिक लक्षण पहिचान, रोगबाट बच्ने उपाय, उपचार प्रक्रिया तथा औषधिको उचित प्रयोगका विषयमा किसानलाई जानकारी गराइएको थियो। सहभागी किसानले पशुपालनका क्रममा भोग्दै आएका स्वास्थ्यसम्बन्धी समस्या र जिज्ञासा राखेका थिए।
पशुमा संक्रमण देखिएपछि मात्र उपचार गर्नुभन्दा रोगको समयमै पहिचान र रोकथाममा ध्यान दिनुपर्नेमा प्राविधिकले जोड दिएका थिए। त्यस्तै, पशु तथा पशुपक्षीमा एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले औषधिले काम नगर्ने अवस्था निम्त्याउन सक्ने भएकाले प्राविधिकको सल्लाहमा मात्र औषधि प्रयोग गर्न सुझाव दिइएको थियो।
वडाध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाकी कृषि प्राविधिक नम्रता राईले सहजीकरण तथा सञ्चालन गरेकी थिइन् । कार्यक्रममा नगरपालिकाका पशु चिकित्सक सुशान्त भट्टराई र पशु स्वास्थ्य प्राविधिक घनश्याम रानामगरले सहजीकरण गरेका थिए ।
पशुपालनलाई व्यावसायिक बनाउँदै किसानको आयआर्जन बढाउन पशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यश किसिमको कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष कार्कीको भनाइ छ । उनले यस्ता कार्यक्रमहरू वडा कार्यालयले आगामी दिनमा पनि निरन्तर अगाडि बढाउने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्