मेचीनगर । सडकमा विद्युत्को तार असरल्ल छरिएको अवस्थामा मोटरसाइकल त्यसैमा बेरिएर दुर्घटना हुँदा मेचीनगरका एक पत्रकार र उनका बुबा घाइते हुनबाट जोगिएका छन् ।
मेचीनगर–८ निवासी पत्रकार युवराज आचार्य आफ्ना बुबालाई मोटरसाइकलमा लिएर बिरामी हजुरआमालाइ भेट्न गइरहेका बेला मेचीनगर ४ स्थित पाथीभरा टोलमा सडकमा छरिएको विद्युत्को तार मोटरसाइकलमा बेरिएपछि दुवैजना लडेका थिए । मोटरसाइकल दुर्घटनामा परे पनि आचार्य र उनका बुबा भने सकुशल छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार जेसिबीले विद्युत्को तार चुँडाएपछि सडकमा तार असरल्ल परेको थियो । तारमा विद्युत् प्रवाह भइरहेको हुन सक्ने अवस्थामा त्यसलाई व्यवस्थापन नगरी छाडिएको भन्दै स्थानीयले समेत चिन्ता व्यक्त गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरण धुलाबारी सेवा केन्द्रका कार्यालय प्रमुख शम्भुप्रसाद मण्डलका अनुसार विद्युत्को तार चुँडिने गरी जेसिबी सञ्चालन गर्ने व्यक्ति मेचीनगर–२ का डम्बर कोइराला रहेको खुलेको छ । विद्युत् जस्तो संवेदनशील विषयमा हेलचेक्र्याइँ गरिएको भन्दै सम्बन्धित व्यक्तिमाथि कारबाहीका लागि प्रहरीमा निवेदन दिने तयारी भइरहेको उनले बताए ।
घटनापछि प्राधिकरणले उक्त क्षेत्रको विद्युत् लाइन काटेर सडकमा छरिएको तार हटाएको मण्डलले जानकारी दिए ।
दुर्घटनामा परेका पत्रकार आचार्यले विद्युत् तार व्यवस्थापनमा लापरबाही गर्ने व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन् । मोटरसाइकल तारमा बेरिएर सडकमा लडेको फोटो तथा भिडियो आचार्यले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटनाको विषयमा सामाजिक सञ्जालमा समेत विरोध भइरहेको छ ।
विद्युत् प्रवाह भइरहेको हुन सक्ने तार सडकमा खुला छाडिँदा ठूलो दुर्घटना हुन सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायले यस्ता घटनामा गम्भीरता अपनाउनुपर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्