मेचीनगरमा पाँच दिनमा २५ हजारले लगाए जेईविरुद्धको खोप

2026-09-25 मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगरमा जापानीज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत पाँच दिनमा २४ हजार ९९९ जनाले खोप लगाएका छन् ।

नगरपालिकाका १५ वटै खोप केन्द्रबाट शुक्रबारसम्म उक्त संख्यामा नागरिकले खोप लगाएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिनुभयो । उहाँले ३० वर्षमाथिका सबै नागरिकलाई अभियानमा सहभागी भएर जेईविरुद्धको खोप लगाउन आग्रह गर्नुभएको छ ।

यसैबीच, मेचीनगर–५ स्थित साई मन्दिर खोप केन्द्रमा शुक्रबार २१४ जनाले जेईविरुद्धको खोप लगाएका छन् । मेचीनगर–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र अधेरीकी कार्यालय प्रमुख अनिता खतिवडाका अनुसार खोप लगाउनेमध्ये ९१ जना पुरुष र १२३ जना महिला रहेका छन् ।

उक्त केन्द्रमा १०३ वर्षीया फूलमाया तामाङले समेत जेईविरुद्धको खोप लगाउनुभएको खतिवडाले जानकारी दिनुभयो ।

अभियानअन्तर्गत भोलि असोज १० गते मेचीनगर–५ स्थित पाथीभरा टोल र असोज ११ गते माङ्हिम खोप केन्द्रमा खोप सञ्चालन हुने जनाइएको छ । स्वास्थ्यकर्मीहरूले लक्षित उमेर समूहका नागरिकलाई तोकिएको केन्द्रमा पुगेर खोप लगाउन आग्रह गरेका छन् ।

मेचीनगरमा असोज ५ गतेदेखि जेईविरुद्धको खोप अभियान सुरु भएको हो । नगरपालिकाले ३० वर्षमाथिका ६५ हजार ५२५ जनालाई खोप लगाउने लक्ष्यसहित अभियान सञ्चालन गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु