झापा । झापाको चारआलीमा यही कात्तिक २१ गते चर्चित नेपाली सांगीतिक ब्यान्ड नेपथ्यको बृहत् कन्सर्ट हुने भएको छ ।
चारआली जेसीज र बज्र इभेन्टको संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम हातेमालो खेल मैदानमा सञ्चालन गरिने आयोजकले शनिबार चारआलीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
चारआली जेसीजका अध्यक्ष सञ्जय निरौलाले पत्रकार सम्मेलनको सहजीकरण गर्दै कार्यक्रमबारे जानकारी दिएका थिए । उनले कन्सर्टले सिंगो झापाको ध्यान आकर्षित गर्नुका साथै चारआली क्षेत्रको गौरव बढाउने बताए । यस कार्यक्रमले स्थानीय व्यापार तथा व्यवसायको प्रवद्र्धनमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।
कार्यक्रमको प्रचारप्रसारका लागि यसअघि धरानदेखि १५५ वटा बुलेटको ¥याली निकालिएको तथा दसैँको फूलपातीका दिन चारआली रनलगायतका कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष निरौलाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बज्र इभेन्टका सञ्चालक तथा कार्यक्रम निर्देशक फुर्वा लामाले कन्सर्टको तयारी र समयतालिकाबारे जानकारी गराएका थिए । उनका अनुसार दिउँसो ४ बजे कार्यक्रमस्थल खुला गरिनेछ भने साँझ ६ बजेदेखि कन्सर्ट सुरु भएर राति ८ बजे सम्पन्न हुनेछ ।
कार्यक्रममा जेसीजका पूर्वअध्यक्ष उत्तमप्रसाद पकुवाल, आयोजक समितिका दावा शेर्पालगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्