बुद्ध पार्कको भोलि उद्घाटन हुँदै

2026-11-03 मा प्रकाशित

धुलाबारी । बुद्धशान्ति गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको बृहत् धार्मिक तथा पर्यटकीय स्थल बुद्ध पार्कको भोलि बुधबार (कात्तिक १८ गते) उद्घाटन गरिने भएको छ।

पार्क उद्घाटनका लागि बौद्ध धर्मगुरु क्याब्जे मुसाङ कुछेन रिन्पोछे मेचीनगर आइपुगेका छन्। उद्घाटन कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा लिम्बूसमेत सहभागी हुने आयोजकले जनाएको छ।

उद्घाटनअघि धर्मगुरुको उपस्थितिमा मेचीनगरको धुलाबारीबाट विशाल शान्ति र्‍याली निकालिने भएको छ। र्‍याली पार्क परिसरमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ। र्‍यालीमार्फत विश्व शान्तिको कामना गरिने नेपाल तामाङ घेदुङ कोशी प्रदेशका अध्यक्ष जगतबहादुर तामाङले जानकारी दिए।

बुद्धको शान्ति, करुणा, मैत्री र अहिंसाको पवित्र सन्देश फैलाउने उद्देश्यले निर्माण गरिएको पार्कको उद्घाटन कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले यस्तो जानकारी दिएका हुन्।

बुद्ध पार्क निर्माण समितिका अध्यक्ष मेनबहादुर तामाङका अनुसार पार्क एक बिघा तीन कट्ठा क्षेत्रफलमा फैलिएको छ। पार्कलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए।

आयोजकका अनुसार पार्कलाई पूर्वकै ठूलो गुम्बासहितको धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने परिकल्पना गरिएको छ। यहाँ भगवान् गौतम बुद्धको शान्ति, करुणा र अहिंसाको सन्देश प्रवाह गर्नुका साथै तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचान संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ कोशी प्रदेशका अध्यक्ष जगतबहादुर तामाङ, उपाध्यक्ष रुपनारायण तामाङ, मेचीनगर अध्यक्ष भक्तबहादुर तामाङ, रामबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो।

बुद्ध पार्क सञ्चालनमा आएपछि धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृति संरक्षण तथा आन्तरिक पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ। पार्कलाई व्यवस्थित रूपमा विकास गरी धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य बनाउने लक्ष्यसमेत राखिएको छ।

आयोजक पेनीर रिन्पोछे बुद्ध धर्मावलम्बी समाजले उद्घाटन कार्यक्रममा सहभागी भई धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण तथा वातावरण प्रवर्द्धनको अभियानमा साथ दिन सबैमा आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु