निर्णायक शक्ति बन्ने एमालेको उद्घोष

2026-11-19 मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दुईदिने राष्ट्रिय कार्यकर्ता भेला २१ बुँदे विशेष प्रस्ताव तथा संकल्प पारित गर्दै बिहीबार काठमाडौंमा सम्पन्न भएको छ। भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको तयारीमा सम्पूर्ण शक्ति परिचालन गर्ने तथा आवश्यक परे लोकतन्त्रको पुनर्बहाली र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आन्दोलन गर्ने संकल्प गरेको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा मंसिर २ र ३ गते आयोजित भेलामा देशभर तथा प्रवासबाट गरी ३ हजार ४१४ प्रतिनिधिको सहभागिता रहेको थियो। भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

भेलामा अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने संकल्प गरौँ’, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि संकल्प गरौँ’ विषयमा सम्बोधन गरेका थिए। उपाध्यक्ष विष्णु पौडेलले एमालेले देश र जनताको पक्षमा गरेका महत्त्वपूर्ण कार्य प्रस्तुत गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टीको शुद्धीकरण, सुदृढीकरण र आगामी स्थानीय निर्वाचनको तयारीका विषयमा प्रशिक्षणमूलक सम्बोधन गरेका थिए।

२१ बुँदे प्रस्ताव र संकल्प

भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको पूर्वतयारी गर्ने तथा आवश्यक परे लोकतान्त्रिक प्रक्रियाको पुनर्बहाली र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ।

पार्टीभित्र देखिएका विलासी जीवनशैली, जनताबाट टाढिने प्रवृत्ति, आर्थिक तथा आचरणगत विचलन, भ्रष्टाचार र गुटबन्दी अन्त्य गर्दै पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा एकताबद्ध बनाउने संकल्प गरिएको छ। निर्वाचनमा जनता तथा कार्यकर्ताको भावना र निर्धारित विधिअनुसार उम्मेदवार छनोट गर्ने प्रतिबद्धता पनि भेलाले व्यक्त गरेको छ।

भेलाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका आठ महिनाको कार्यकालप्रति आलोचनात्मक धारणा राख्दै राजनीतिक प्रतिशोध, संवैधानिक संस्थामाथिको हस्तक्षेप र स्वेच्छाचारिता बढेको आरोप लगाएको छ। महँगी नियन्त्रण, घरायसी प्रयोजनको विद्युत्मा लगाइएको कर फिर्ता, बाढीपीडित तथा सुकुम्बासीको उचित व्यवस्थापन र २०८२ भदौ २३ तथा २४ गतेका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न माग गरेको छ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा सीमा समस्या, असमान सन्धि, प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन, व्यापार घाटा, हवाई प्रवेश बिन्दु तथा लामो समयदेखि रोकिएका परियोजनाका विषयमा राष्ट्रिय हितअनुकूल स्पष्ट अडान राख्न सरकारको ध्यानाकर्षण गराइएको छ।

केन्द्रीय कमिटी बैठकका निर्णय

राष्ट्रिय भेला सम्पन्न भएलगत्तै बसेको एमाले केन्द्रीय कमिटी बैठकले भेलाबाट पारित कार्यभार तथा संकल्पलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।

पार्टी सचिव महेश बस्नेतका अनुसार बैठकले आगामी मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका तहका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। अधिवेशन सकेसम्म सर्वसम्मत र नभए लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न गर्न पार्टी पंक्तिलाई निर्देशन दिइएको छ। साथै, जुनसुकै बेला आन्दोलनमा उत्रिन मानसिक रूपमा तयार रहन पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु